सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान, बहुमत लिएर जाँदै विपक्षी


काठमाण्डु – गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका आफ्नो दावी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

विपक्षी गठवन्धन आजै सरकारको दाबी गर्न प्रदेश प्रमुखको कार्यालय जाने भएका छन् । विपक्षी गठबन्धनबाट प्रस्तावित मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आजै सरकारको दाबी गर्ने बताए ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । गठबन्धनका बहुमत सदस्य प्रदेश प्रमुखकोमा स–शरीर उपस्थित हुने भएका हुन् । पाँच बजे प्रदेश प्रमुखकहाँ दावि पेश गर्न जा नेगरी तयारी भएको कांग्रेस सांसद ओमकला गौतमले जानकारी दिइन् ।

त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचत मिति तोक्ने  संविधानको धारा १६८ को उपधारा (७) मा व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
Advertisement