हिजो राजाको इतिहास मेटियोजस्तै आज अभिलेखबाट ओलीको नाम हटाइयो : ज्ञानेन्द्र शाही

हिजो राजाको इतिहास मेटियोजस्तै आज अभिलेखबाट ओलीको नाम हटाइयो : ज्ञानेन्द्र शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट केपी शर्मा ओलीको अभिलेख हटाइनु पालाको पैचो भएको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक संजालमा लेख्दै शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेले यसमा दुख नमान्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन् ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए। हिजोँं, हुँदाहुँदा राजमार्गहरूको नामसमेत फेरियो। राजाका पालामा बनेका संरचना र त्यससँग जोडिएको इतिहास योजनाबद्ध रूपमा मेटाउने प्रयास तिमीहरूले नै गर्‍यौ। आज ठ्याक्कै त्यस्तै भएको छ।’

यस्तै उनले भाेलि इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुनसक्ने बताए । ‘इतिहास मेटाउनेहरूले सधैँ सम्झनुपर्छ—आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ।’ उनले लेखेका छन् ।