काठमाण्डु – काठमाण्डु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएको छ ।
वीर अस्पतालमा उपचारका क्रममा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको निधन भएको हो ।
यसअघि अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो ।
नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो उनको उपचारमा संलग्न वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको छ । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा पनि छलफल भएको थियो तर स्वास्थ्य अवस्था अस्थिर रहेकाले तत्काल लैजान सम्भव नभएको अस्पतालले जनाएको थियो ।
नेपालीले बिहीबार काठमाण्डुको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
यसबीच नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दैछ । बैठकमा गृहमन्त्री सुधन गुरुङ पनि उपस्थित हुनेछन् ।




प्रतिक्रिया