काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उप–नेता एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभाको अघिल्लो बैठकमा आफूले असभ्य र असंसदीय शब्द बोलेको स्वीकार गर्दै माफी मागेका छन् ।
सोमबारको बैठकमा प्रस्तावित नियमावली मस्यौदामाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले गलत शब्द उच्चारण गरेको भन्दै माफी मागेका हुन् ।
पराजुलीले सरकारको नीति तथा कार्यक्रमको बचाउमा बोल्ने क्रममा २९ वैशाखमा विपक्षी दलहरुतर्फ लक्षित गर्दै ‘भरौटेहरू’ र यहाँ लुगा लगाए पनि नाङ्गै हिडेंको जस्तो’ भन्ने शब्दावली प्रयोग गरेका थिए ।
पराजुलीको अभिव्यक्ति असंसदीय र अमर्यादित भन्दै विपक्षी एमालेका सांसदले नियमापत्ति जनाउँदै संसदको अभिलेखबाट ती शब्द हटाउन सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग माग गरेका थिए ।
अर्यालले ३१ वैशाखको बैठकमा पराजुलीले प्रयोग गरेका ‘झोले र लुगा लगाए पनि नाङ्गै’ भन्ने शब्द असंसदीय भएकाले अभिलेखबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका थिए ।
पराजुलीले आफ्ना गलत शब्द रेकर्डबाट हटाउन सभामुखले दिएको आदेशको सम्मान गर्ने तथा आफ्ना गलत शब्दका कारण आमजनतामा पर्न गएको त्यो असरप्रति क्षमायाचना गरे ।
‘केही दिन अगाडि सम्मानित सदनको रोष्ट्रमबाट मैले सम्बोधन गर्दै गर्दा मबाट भावार्थससिहत प्रस्तुत भएका केही शब्दहरुप्रति नियमापत्ति जनाइएको थियो र उक्त शब्दहरुलाई असंसदीय र अशिष्ट भनेर संसदको रेकर्डबाट हटाउन माग भए बमोजिम सम्माननीय सभामुखज्यूले रोष्ट्रमबाट हटाउने आदेश गरिसक्नुभएको छ’, पराजुलीले भने, ‘सम्माननीय सभामुखज्यूको त्यो आदेशलाई उच्च सम्मान गर्दै यही प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सभापतिको हैसियतले आफ्ना कारणले आफूले उच्चारण गरेका शब्दका कारण आमजनतामा पर्न गएको त्यो असर र त्यसले पारेको दुःखप्रति गहिरो दुःख व्यक्त गर्दै म क्षमायाचना गर्न चाहन्छु ।’




प्रतिक्रिया