देशभर गर्मी बढ्यो, तीन दिनको मौसमबारे यसो भन्छन् मौसमविद


काठमाण्डौैं – आज देशभरको मौसम बदली हुने मौसमविदले जनाएका छन् । शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । नेपालगञ्जको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी नपर्दा नेपालगञ्जसहित देशभरी कै तापक्रम बढेको हो । यस्तै बिहीबार धनगढीको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ४० दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार मौसम बदली भएसँगै बढ्दै गएको तापक्रम थोरै घट्ने मौसमविद् वरुण पौडेलले बताए । पश्चिमी वायुको प्रभावले अबको तीन दिन पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको उनले बताए । पश्चिमी तराई बाहेक पूर्व र मध्य क्षेत्रको तराईमा भने मौसम सफा हुनेछ । शुक्रबार दिउँसो काठमाडौसहित मध्य र पूर्वी पहाडी भेगको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद् पौडेलको अनुमान छ । अबका तीन दिन पहाडी क्षेत्रका एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः देशको पश्चिमी भूभाग लगायत पूर्वी तथा मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पूर्वी तथा पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भू–भागमा आंशिक बदलि रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ । पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २८ गते (शनिवार)ः

दिउँसोः पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको संभावना छ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू–भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २९ गते (आईतवार)ः

दिउँसोः पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको संभावना छ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः पहाडी भू–भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा रहने सम्भावना छ । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement