काठमाण्डु – नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको बिक्री वितरण सम्बन्धी नयाँ सूचना जारी गरेको छ ।
आईतबार जारी सूचनाअनुसार भोलि भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताहरूमार्फत नियमित प्रक्रियाअनुसार नै ग्यास बिक्री वितरण हुनेछ ।
उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ । ग्यास बिक्री वितरणको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन निगमले विभिन्न प्रबन्ध मिलाएको छ । जसअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्या सहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगममा उपलब्ध गराउनुपर्नेछ ।
बिक्रेता वा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बर सहितको विवरण दैनिक रूपमा तयार पारी सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । उद्योगहरूले सो विवरण सोही दिन नेपाल आयल निगमलाई उपलब्ध गराउनुपर्नेछ ।
निगमका अनुसार ग्यास बिक्री वितरण गर्दा अतिआवश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्नेछ । ग्यास ढुवानी र वितरण कार्यको सुरक्षाका दृष्टिले सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेतको संयुक्त टोलीबाट ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । नजिकका बिक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका र तत्काल अति आवश्यक परेका उपभोक्ताहरूले निगममा सञ्चालनमा रहेको क्वीक रेस्पोन्स टीम (क्यूआरटी) को मोबाइल नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।





प्रतिक्रिया