गौर हत्याकाण्ड :सरकार र पीडितबीच भएको सम्झौताप्रति जसपाको आपत्ति


काठमाण्डु – जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानविन गर्ने भन्दै सहमति गरेर आफ्नो पार्टीका नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी जसपाले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको बताए । साथै सो पार्टीले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरुबीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै रहस्यमय भनेको छ ।

“गौर घटनाका सन्दर्भमा नेपाल सरकार र गौर घटनाका पीडितका तर्फबाट रुपसागर उपाध्यायबीच भएको सहमतिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” जसपा प्रवक्ता मनिस सुमनले भने, “संयुक्त राष्ट्रसंघीय निकाय ओएचसीएचआरले पनि अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको छ । पुनरावेदन अदालत पाटन र सुरक्षा निकाय सम्मिलित समितिले पनि प्रतिवेदन बुझाइसकेको छ ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मी आयोगको प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको छ । ती सबै प्रतिवेदनको अध्ययन गर्नुभन्दा छुट्टै सहमति गर्नु मधेस आन्दोलन रोक्न सरकारले गरेको सम्झौताको विरुद्धमा छ ।” उनले उक्त घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने बताए । त्यो घटनाको सत्यतथ्य छानिबन गर्नुपर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement