गौरीबहादुरको अन्तर्वार्ताबारे एमालेको प्रतिक्रियाः कालो पर्दा खुल्दैछ, हाम्रा निष्कर्ष सही थिए भन्ने पुष्टि हुँदैछ

गौरीबहादुरको अन्तर्वार्ताबारे एमालेको प्रतिक्रियाः कालो पर्दा खुल्दैछ, हाम्रा निष्कर्ष सही थिए भन्ने पुष्टि हुँदैछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले जेन–जी आन्दोलनका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनको निश्पक्षतामाथि प्रश्न उठाएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आयोग अध्यक्ष गौरीबहादुर कार्कीका पछिल्ला अभिव्यक्तिले आयोगको निष्पक्षता, अनुसन्धानको दायरा र प्रतिवेदनका निष्कर्षबारे गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।


कार्कीले सार्वजनिक रूपमा दिएका विवरणले आयोगले अनुसन्धानका क्रममा पत्ता लगाएका विषय र त्यसको निष्कर्षबारे थप प्रश्न जन्माएको आचार्यको भनाइ छ ।

आचार्यले अध्यक्ष कार्कीले हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा पत्रकार निमेष बञ्जाडेलाई दिएको अन्तर्वार्तामा जेनजी आन्दोलनको पहिलो दिन गत वर्ष २३ भदौको बिहानै हालका गृहमन्त्री एवं ‘हामी नेपाल’ संस्थाका तत्कालीन प्रमुख सुधन गुरूङ एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित माइतीघर मण्डला पुगेको बताउनुलाई गम्भीर भनेका छन् ।

गुरुङ त्यति ठूलो तयारीसहित बिहानै घटनास्थल पुग्नुले आन्दोलनको सम्भावित अवस्थाबारे पूर्वजानकारी भएको आरोप लगाएका छन् ।

आयोगले अनुसन्धानका क्रममा सीसीटीभी फुटेज तथा मोबाइल लोकेसनसमेत परीक्षण गरेको अध्यक्ष कार्कीले बताएको उनको भनाइ छ ।

आचार्यले भदौ २४ गते भएको आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नमाथि कारबाही रोक्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीबाट दबाब आएको विषय पनि अध्यक्ष कार्कीको भनाइमार्फत सार्वजनिक भएको बताएका छन् ।


जेन–जीसँग सरकारले गरेको सहमतिमा विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही नगर्ने विषय समेटिएको विवरणसमेत सार्वजनिक भएपछि आयोगको अनुसन्धानले राजनीतिक निर्णय र आन्दोलनका घटनाबीचको सम्बन्धलाई कसरी मूल्याङ्कन गरेको थियो भन्ने प्रश्नसमेत उठेको तर्क आचार्यको ।


आचार्यले आयोग गठन हुँदादेखि नै एमालेले कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको बताए । त्यतिबेला आफ्नो पार्टीमाथि आलोचना भए पनि अहिले आयोग अध्यक्षकै सार्वजनिक अभिव्यक्तिले ती प्रश्नलाई पुनः बहसमा ल्याएको दाबी उनले गरे ।


अध्यक्ष कार्कीले भदौ २४ गते भएको लुटपाट, आगजनी तथा विध्वंसमा संलग्न कसैलाई पनि कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको प्रसङ्गसमेत सार्वजनिक गरेको भन्दै आचार्यले जेन–जी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित थप तथ्य सार्वजनिक हुँदै जाने दाबी गरेका छन् ।


‘अब कालो पर्दा खुल्दै जानेछ । नेकपा (एमाले), लोकतन्त्र र देशविरुद्ध गरिएका षड्यन्त्रहरू क्रमशः पटाक्षेप हुँदै जानेछन्’, अचार्यले भनेका छन्, ‘एमालेका निष्कर्षहरु सही थिए भन्ने कुरा थप पुष्टि हुँदै जानेछन् ।’

आचार्यले एमालेले सुरुदेखि उठाएको आशंका राजनीतिक आरोप मात्र थियो वा त्यसमा अनुसन्धानयोग्य आधार पनि थियो भन्नेबारे स्वयं अध्यक्ष कार्कीको भनाइले प्रश्नलाई थप पुष्टि गरेको दाबी गरे ।

‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ २३ गते बिहानै माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएका छन् । उनले यसलाई आन्दोलनको सम्भावित परिणामबारे पूर्वजानकारी रहेको हुनसक्ने आधारका रूपमा प्रस्तुत गरेका छन् । आयोगले सीसीटीभी फुटेज र मोबाइल लोकेसनसमेत अध्ययन गरेको उनको भनाइ छ’, अचार्यले लेखेका छन्, ‘आयोग गठन भएदेखि नै नेकपा (एमाले) ले गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको थियो । त्यसबेला एमालेलाई धारेहात लगाउने र आलोचना गर्ने काम भयो । तर, अहिले अध्यक्ष कार्कीकै अभिव्यक्तिले आयोगको निष्पक्षता, अनुसन्धानको दायरा र प्रतिवेदनका निष्कर्षबारे गम्भीर प्रश्न खडा गरेको छ ।’
कार्की नेतृत्वको आयोगले गत फागुन २४ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन सरकारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।