काठमाण्डु – पशुपति क्षेत्र विकास कोष गौशालास्थित पशुपतिनाथको धर्मशाला २१ वर्षपछि मारवाडी सेवा समितिबाट फिर्ता गरेको छ ।
कोष र समितिबीच भएको सम्झौता काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएपछि कोषले गौशाला फिर्ता पाएको हो ।
२०६० सालमा कोष र समितिबीच गौशालास्थित कित्ता नं. ८३ को ४ रोपनी १५ आना २ पैसा र सोही स्थानको कित्ता नं. ८५ को ४ रोपनी १० आना जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।
कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाउँ’ भनी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएपछि पशुपतिनाथको सम्पत्ति फिर्ता भएको हो ।
सदस्यसचिव थापाले फिर्ताबारे भने, ‘वर्षको ५१ हजार रुपैयाँ मात्रै तिरेर व्यापारिक लाभका लागि भगवान श्री पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला प्रयोग भएको थियो । हाम्रो लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको पशुपतिनाथको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिने छ ।’
सम्झौतापत्रमा समितिलाई कोषले धार्मिक कार्यको प्रयोजनका लागि वार्षिक ५१ हजार रुपैयाँ तिर्ने गरि उपलब्ध गराउने सम्झौता भएको थियो । तर मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट र डायलासिस सेन्टर समेत सञ्चालन गरिरहेको छ । समितिले व्यावसायिक प्रयोजनकै लागि दूध उत्पादन गर्न जर्सी गाई पालेर दूध समेत बेच्ने गरेपछि विरोध हुँदै आएको थियो । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक ३५ हजार रुपैयाँसम्ममा भाडामा लगाएको छ ।
सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेजीको निर्णय लिएको थियो ।
प्रतिक्रिया