मुक्तिनाथ भ्रमण गर्ने योजनामा थिए हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका जनरल रावत


काठमाण्डु – भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । बुधबार दिउंसो भारतीय सेनाको आईएएफ एमआई १७ भी हेलिकोप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउंमा दुर्घटना हुंदा रावतसहित १३ जनाको मृत्यु भएको हो । रावतसंगै उनकी पत्नी मधुलिका रावतको समेत मृत्यु भएको भारतीय एयर फोर्सले जनाएको छ ।

जनरल रावत विलिंटनस्थित स्टाफ कलेजमा तालिम लिइरहेका अधिकृतहरुलाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ । सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ ।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन । उनलाई गत जनवरीमा उक्त पदमा नियुक्त गरिएको थियो । उनि भारतीय थल सेनाको २७ औं सेनाअध्यक्ष हुन । रावतको सत्तारुढ दल विजेपीसंग नजिकको सम्बन्ध थियो ।

जनरल रावतले यसअघि सेनाअध्यक्ष हुंदा नेपालको भ्रमण समेत गरेका थिए । रावत नेपाललाई निकै माया गर्ने भारतिय सैनिक अधिकारीका रुपमा चिनिन्छन् । उनी सेनामा हुंदा गोर्खा राइफल कमाण्डको कमाण्डर समेत थिए । रावत नेपालसंग सिमा जोडिएको उत्तराखण्ड राज्यको पउरीमा जन्मिएका हुन । उनका बुवा लक्ष्मणसिंह रावत समेत भारतिय सेनाको तीन तारे जनरल थिए ।

रावत १९७८ मा भारतिय सेनाको ५ औं बटालियनअन्र्तगतको ११ औं गोर्खा राइफलमा भर्ना भएका थिए । उनि नेपाली सेनाको मानार्थ प्रधानसेनापति समेत थिए । रावत १९७८ मा भारत चीनको बीचमा भएको सुमडोरोंग चु उपत्यकामा भएको लडाईमा समेत सहभागी बनेका थिए ।

उनले २०१७ मार्च र २०१८ फेब्रुररीमा नेपालको भ्रमण गरेका थिए । रावतले गत वर्ष नेपाल भ्रमणमा आउने ईच्छा गरेपछि सरकारले उनको भ्रमणको लागी स्विकृती दिएको थियो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत बैशाख ९ गते उनको भ्रमणका लागी स्विकृती दिएको थियो । रावतले मुक्तिनाथ भ्रमणमा जाने इच्छा व्यक्त गरेपछि सेनाले उनलाई निमन्त्रणा पठाएको थियो । पछि कोराना भाइरसको महामारी बढेपछि उनको भ्रमण अन्तिम समयमा आएर रद्द भएको थियो ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको कात्तिक २३ देखि २६ सम्म भएको भारत भ्रमणका बेला पनि रावतले आफु अर्को वर्ष मे मा नेपाल भ्रमणमा आउने बताएका थिए । शर्मासंगको औपचारिक भेटमा उनले उक्त चाहना व्यक्त गरेका थिए । त्यसपछि रावतले आफ्नो निजी निवासमा शर्माको सम्मानमा डिनरको आयोजना गरेर नेपाल भारतका बिविध पक्षमा छलफल समेत गरेका थिए ।

रावत दिल्लीमा यस्ता सैनिक अधिकारी थिए । जसले नेपाल र नेपालीलाई सधैं माया गर्थे । उनले नेपाल मामलामा निकै चांसो, चिन्ता राख्ने गरेको र सहयोगको भावना समेत भएको सैनिक अधिकारीका रुपमा छवी बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement