घोडेपानीका लागि पर्वतको अम्बोटबाट नयाँ पदमार्ग!


पर्वत – प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ। पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो।

हाल कास्कीको वीरेठाँटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउन्ड’ लगाउन सकिने भएको छ। नयाँ पदमार्गको पर्वतका सांसद पदम गिरीले शिलान्यास गरेका छन्। कुश्मा–३ भारतीगाउँमा आयोजित कार्यक्रममा गिरीले पदमार्गको शिलान्यास गरेका हुन्। नयाँ पदमार्ग आम्बोटबाट शुरु हुन्छ।

पोखराबाट साढे एक घण्टामा आम्बोट पुगिन्छ। आम्बोटबाट एक घण्टा ३० मिनेट पैदल हिँडेपछि क्यानोनिङस्थल पुग्न सकिन्छ। क्यानोनिङबाट ३० मिनेटको दूरीमा आकर्षक घरवास पनि सञ्चालनमा ल्याइएको छ। क्यानोनिङसम्म सवारी साधनमा जान पनि सकिन्छ तर पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो।

दुर्लुङमा गत वर्षदेखि महभीर छहरामा क्यानोनिङ शुरु गरिएको छ । क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो। यो मार्गबाट अन्नपूर्ण फेरोमा पर्यटकलाई आकर्षित गर्न सकेमा साहसिक खेल क्यानोनिङको प्रचार हुने र वर्षेनी हजारौँले क्यानोनिङको मज्जा लिने क्यानोनिङ तथा पदमार्गका मुख्य अभियन्ता गोलमान गुरुङले बताए।

‘आम्बोट–दुर्लुङ हुँदै घोडेपानी जान छोटो पर्छ, आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ’, उनले भने। यो पदमार्गमा केन्द्र सरकारको पर्यटन मन्त्रालयबाट चालू आर्थिक वर्षमा ५० लाख विनियोजन भएको छ। चालू आर्थिक वर्षमा यो रकमले तीन हजार ५०० मिटर पदमार्ग निर्माण गर्ने तयारी भएको गुरुङले जानकारी दिए। ‘आवश्यकताअनुसार संरचना निर्माण गर्दै जान्छौँ’, उनले भने।

लामो समय बेलायतमा बस्दै आएका उनी दुर्लुङमा क्यानोनिङको विकास र पदमार्गसहितको पर्यटकीय गाउँ बनाउन जन्मगाउँ फर्केका हुन्। ‘म पर्यटकीय गाउँको भौतिक संरचना निर्माण नगर्दासम्म गाउँमै रहनेछु’, उनले भने। क्यानोनिङ र पदमार्गमा आउने पर्यटकलाई बास बस्नको सहज बनाउन लागि गाउँका परम्परागत घरलाई सजाएर घरवास पनि सञ्चालनमा आएको छ। अहिले घरवासका थप संरचना पनि बनाउने काम जारी छ।

सांसद गिरीले देशभरका १०० पर्यटकीय गन्तव्यमध्ये दुर्लुङको क्यानोनिङ परेको र यसलाई नियमित चलाउन सकेमा दुर्लुङ पर्यटकीय क्षेत्र बन्ने बताए। नयाँ पदमार्ग निर्माण भएपछि दुर्लुङमा पर्यटनको सङ्ख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने धारणा उनले राखे। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement