भूमि प्रशासनका ३ नायब सुब्बासहित ५ जना ३ लाख घुससहित पक्राउ

भूमि प्रशासनका ३ नायब सुब्बासहित ५ जना ३ लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलका ३ जना नायब सुब्बा र २ जना लेखापढी व्यवसायीलाई ३ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दु:ख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित होटलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगले उनीहरूको साथबाट घुस रकम ३ लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद भएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।