गुठी संस्थानसँग ६ लाख रोपनी बढी जग्गा


काठमाडौं – गुठी संस्थानसँग देशभर ६ लाख २८ हजार ३ सय २० रोपनी जग्गा भए पनि उसको आफ्नै स्वामित्वमा भने केही हजार रोपनी मात्रै रहेको पाइएको छ । संस्थानको स्वामित्वमा मठमन्दिर, पाटीपौवा, सत्तल बगँैचा र खाली जग्गा गरी पहाड र उपत्यकामा ३ हजार रोपनी र तराईमा २ हजार बिगाहा रहेको छ ।गुठी संस्थानको जग्गासमेत भूमाफियाले कब्जा गरेको जानकारी आउन थालेपछि जग्गाको विवरण तयार गरिएको उक्त संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाले बताउनुभयो ।

संस्थानका अनुसार सबैभन्दा बढी तराईको जनकपुर, महोत्तरी तथा उपत्यकामा गुठीको जग्गा बढी अतिक्रमण भएको छ । उपप्रशासक एवं प्रवक्ता थपलियाले क्लब, विभिन्न संघसंस्था र राजनीतिक पहुँचको आधारमा दर्जनौ रोपनी जग्गा अतिक्रमित भएको बताउनुभयो ।

अतिक्रमणको चपेटामा रहेको जग्गा संरक्षण गर्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘हालै हामीले जनकपुरका करिब १ दर्जन पोखरीको किनारमा अतिक्रमण गरी बसेका २ सय ५० परिवारलाई हटायौँ । महन्तको आदेशमा बस्दै आएकालाई हटाएपछि जनकपुरमा गुठीको जग्गा संरक्षण हुन थालेको छ, अब उपत्यकामा पनि जग्गा संरक्षण गर्ने तयारी गरेका छौँ ।’ यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement