नेता गिरीको पार्थिव शरीरलाई सानेपामा राखियो, श्रद्धाञ्जली दिनेको घुइँचो


काठमाण्डु- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

७५ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्र दलका नेता कार्यकर्तालगायत शुभेच्छुक सानेपा पुगेका हुन् ।

यसअघि गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालयमा राखिएको थियो । जहाँ पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेताहरु शेखर कोइराला‚ रामचन्द्र पौडेल, अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो लगायतले गिरीको पार्थिव शरीरमा माल्यार्पण गरेका थिए ।

आइतबार पूर्व राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसका महामन्त्री गगन थापालगायत नेता ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका थिए।

गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकको भिडभाड लागेको छ । त्यसैगरी गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदय शमशेर राणालगायतले अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरिसकेका छन्।

प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका गिरि गतको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement