स्वास्थ्य समूहबाटै स्वास्थ्य सचिव बनाउन गोदानको माग


काठमाण्डु – बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयबाट अलग्याइएको छ । मन्त्रालयका लागि अहिले विभिन्न १७ पदमा २५ जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

प्रस्तावित दरबन्दीमा चिकित्सकको एउटा पनि दरबन्दी कायम नभएको भन्दै चिकित्सकहरुले विरोध जनाएका छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदानले) स्वास्थ्य मन्त्रालय प्राविधिक मन्त्रालय भएकाले सचिवका लागि प्रशासन तर्फको सचिव राख्न नहुने र अन्य पदमा पनि चिकित्सकको दरबन्दी राख्नु पर्ने माग गरेको छ ।

गोदानका अध्यक्ष डा. रविन खड्का र सहसचिव डा. किर्तिपाल सुवेदीले विज्ञप्ति जारी गर्दै स्वास्थ्यको महत्व बुझेर प्रदेशमा समेत स्वास्थ्य मन्त्रालयको प्रस्ताव गर्नु स्वागतयोग्य भएपनि अप्राविधिक नेतृत्वको हातमा सुम्पिनु हास्यास्पद र गैरजिम्मेरपूर्ण भएको टिप्पणी गरेका छन् ।

संघले स्वास्थ्य सेवाको दरबन्दी कायम गर्दा स्वास्थ्य सेवाको सदैव मुख्य स्तम्भ रहेको चिकित्सकहरुलाई नजर अन्दाज गरेको भन्दै आपत्ति जनाएको छ । ‘अनेक सेवा समूह राख्ने तर स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक समूहलाई भने नीति निर्माणको तहबाट नियोजित रुपमै अलग्याउनु निकै खेदपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले गल्ती सच्याएर स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी स्वास्थ्य क्षेत्रकै विशेषज्ञ चिकित्सकलाई दिन माग गरेको छ । यस्तै अन्य सेवा समूह जस्तै मेडिकल अधिकृतदेखि विशेषज्ञ चिकित्सकसम्मलाई मन्त्रालय, विभाग देखि महाशाखा तथा शाखामा दरबन्दी राख्र्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement