‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रचण्डले नै राेकेका हुन्’


काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संलग्न भएको दावी गरेका छन् । उच्च स्तरीय छानबिन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानबिन समिति नबनाएको उनले दावी गरेका हुन् ।

उद्याेग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आईपुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफूहरुको रहर नभएको पनि बताएका छन् । `एमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन,´ उनले भने, `हाम्रो माग एउटै हो उच्च स्तरीय छानबिन समिति बनोस्, निष्पक्ष छानबिन हाेस् ।´

उच्च स्तरीय छानबिन समितिले गृहमन्त्रीलाई समेत नछोड्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाई रोकेको सचिव भट्टराईको आरोप छ । २०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए ।

मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउँदै उक्त निर्वाचनमा स्थानीयदेखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement