पूर्वडिआइजी निरौला, एसएसपी लोहनीसहित २८ जना कारागार चलान


काठमाडौं–जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याकाण्डमा ६ जना पूर्वप्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मंगलबार अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुना राख्न, एक जनालाई तारेखमा, १ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अदालतले पक्राउ परेकामध्ये प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार तथा हवल्दार अमरबहादुर थापालाई साधारण तारेखमा रिहा गर्न र अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

खड्का त्रिभुुवन अन्तर्राष्टिय विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीका चालकसमेत हुन्, भने खत्रीका अंगरक्षक हुन्।

अदालतले पूर्वडिआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, निलम्बित एसपी विकासराज खनाल, निलम्बित डिएसपी सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई पुर्पक्षका लागि थुनामा राख्न भनेको हो।

टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार पनि कारागार चलान भएका छन्।

उक्त काण्डमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

काठमाडौं प्रहरीले खोजिरहेका सनम शाक्यको शव फागुन १८ मा धरानमा फेला परेको थियो। अपराध महाशाखाले खटाएका दुई प्रहरीले धरानमा फेला पारेको शाक्यको शव १९ गते विराटनगर पोखरिया कन्यामार्गमा सार्वजनिक गरिएको थियो। शव फेला पारे पनि प्रहरी टोलीले सुन तस्करीका मुख्य अभियुक्त गोरे भन्ने चुणामणि उप्रेतीलाइ पक्राउ गरेको थिएन। उनी मंगलबार मात्र काठमाडौंबाट पक्राउ परेका हुन्।

उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषदले चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वमा समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement