सुनकाण्ड र सनम हत्या प्रकरण: गोरेले दिए २७ पृष्ठको बयान


विराटनगर– सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’ को जिल्ला अदालत मोरङमा तीन दिनदेखि बयान जारी छ।

मुख्य अभियुक्त भनिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार बयान आइतबार सकिने सम्भावना छ। बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरको बयान शुक्रबार सम्ममा २७ पृष्ठमा पुगेको अदालत स्रोतले जनाएको छ। उनी गत मंगलबार पक्राउ परेका थिए।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो।

यसैबीच, घटनाका मुख्य अभियुक्त भनिने गोरेलाई सहयोग गरेको अभियोगमा बिहीबार मोरङको उर्लाबारी नगरपालिका–२ का रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरी शुक्रबार अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराएको छ।

आचार्य पक्राउ परेपछि अब फरार आरोपीको सं ङ्ख्या ३१ रहेको छ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायब महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी ६ जना छन् ।

जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement