सुनकाण्ड : एसएसपी श्याम खत्री जेल चलान


काठमाडौं– सुन काण्डमा मुछिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन्।

बिहीबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका उनलाई न्यायाधीश नारायणप्रसाद शर्माले थुनछेक बहस पश्चात पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन्।

संगठीत अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ।ब। ११८ को देहाय २ का आधारमा खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका निमित्त श्रेष्तेदार केदारप्रसाद गौतमले जानकारी दिए।

थुनछेक बहसमा सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पूूण्यप्रसाद पाठक र खत्रीको तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरेका थिए।

यसअघि भएको बयानमा खत्रीले हराएको भनिएको साढे ३३ किलो सुन तस्करीमा संलग्न नरहेको दाबी गरेका स्रोतको दाबी छ।

गत फागुन ९ गते दुबईबाट आएको साढे ३३ किलो तस्करीको सुन हराएपछि मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती समूहले सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । सो प्रकरणमा उच्च प्रहरी अधिकारी र गोरे सहित २९ जना पूर्पक्षका लागि यसअघि नै पुर्पक्षका लागि जेल चलान भइसकेका छन्।

२१ पुुस २०७३ मा केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा समेत एसएसपी खत्री पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौँले खत्रीलाई धरौटीमा रिहा गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement