सुन प्रकरण : संसदीय समितिमा कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका हुन् ।

गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदासमेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन राजस्व विभागले बरामद गरेको घटना लिएर सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्री नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

यसमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुई मन्त्रीहरूले बाटो खुल्ला गर्नुपर्ने शर्माको भनाइ थियो । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै शर्माले प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने बताए । बैठकमा कांग्रेसकै अर्का सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement