‘गोल्ड डन गोरे’ले मामा किन भन्थे सई बालकृष्ण सन्जेललाई, के हो गोरे–बालकृष्ण कनेक्सन ? 


काठमाडौं– साढे ३३ किलो सुन तस्करी काण्डमा अनेकौं घुम्तीहरु आउने क्रम जारी छ । उक्त घटनासँग जोडिएका विभिन्न अभियुक्तहरुको बयान जारी रहेको छ ।

उक्त सुनका मालिक भनेर चिनिएका गोल्ड डन चुडामणि उप्रेती गोरेसँग जोडिएर सर्वा्धिक चर्चामा रहेका ब्यक्ति हुन् तत्कालीन प्रहरीका सई बालकृष्ण सन्जेल । तिनै बालकृष्ण सन्जेलले प्रहरीसँगको बयानमा आफू गोरेको मामा नभएर गोरेले सबैलाई मामा भन्ने बयान दिएका छन् । ‘निजले निजको सम्पर्कमा रहेका प्रहरी कर्मचारीहरुलाई मामा भनी सम्बोधन गर्ने गरेको र मलाई समेत निजले मामा भनी सम्बोधन गर्ने गरेको थियो,’ उनले बयानमा भनेका छन् ।

उनले गोरेसँग पहिलो पटक आफूलाई एसएसपी श्याम खत्रीले भेटाएको समेत बताएका छन् । सुन तस्करी भरिया सनम शाक्यको हत्या भएपछि उनको शव ब्यवस्थापन गर्न बार्गे्निङ गरेको देखिएपछि विवादमा तानिएका संन्जेलले आफू लाश रहेको गाडीमा घुमेको कुरा पनि बयानमा स्वीकार गरेका छन् ।

उनले गोरेले महानगरीय अपराध महाशाखालाई सुन तस्करी र हुण्डी कारोबारीको सुराकी दिने गरेको र आफू र सई गजेन्द्र रावल मोबाइल समेत गिफ्ट गरेको बयानमा उल्लेख गरेका छन् । उनले आफ्नो तीन हजार शब्द भन्दा लामो बयानमा यस्ता अनौठो रहस्यहरु खोलेका छन् ।

थप उनकै शब्दमाः

प्रतिवादी बालकृष्ण सन्जेलको वयानः–

मिति २०६६ साल बैशाख महिना देखि महानगरीय अपराध महाशाखा हनुमान ढोका पिलर नं.४ मा फिल्डमा रही खवर संकलन को काम गर्दै आएकोमा लगभग २ बर्ष अगाडी मेरो मोवाईल नं.९८५११२६९२८ मा हुनुपर्दछ एक जना मैले नचिनेको मानिसले मलाई फोन गरी तपाई संजेल हो भनी सोध्दा मैले हो भने र निजले मलाई म  एसएसपी श्याम बहादुर खत्रीको मानिस हुँ, हामीहरु कहि भेटघाट गरौ भनी भनेको थियो ।

मैले निजलाई आफुले नचिनेको हुँनाले निजसंग भेटघाट नगर्ने भनी निजलाई गाली गरी फोन राखिदिए । सोही दिन एसएसपी श्याम बहादुर खत्री सरले म संगै अपराध महाशाखामा कार्यरत सई गजेन्द्र रावललाई फोन गरी संजेल भन्ने को हो ? भनी सोधेका रहेछन । सो पश्चात सई गजेन्द्र रावलले मलाई फोन गरी तिमिले कसैलाई गाली गरेका थियौ भनी सोध्दा मैले निजलाई मलाई एक नयाँ नं.बाट एसएसपी  श्याम खत्रीको मान्छे हुँ भनी मैले नचिनेको मानिसले फोन गरेको थियो र मैले निजलाई गाली समेत गरेको थिए भनी निज सई गजेन्द्र रावल सरलाई बताए ।

सो को भोलिपल्ट एसएसपी श्याम खत्री सरले सई गजेन्द्र रावललाई फोन गरि मलाई लिएर काठमाडौको बत्तिस पुतलीमा आउनु भनेर बोलाएका रहेछन र सई गजेन्द्र रावल सर काठमाडौंको बत्तिस पुतलीमा रहेको बाजेको सेकुवा कर्नरमा पुगेर एसएसपी श्याम खत्री सरलाई भेटेर निज सई गजेन्द्र रावल सरले मलाई समेत फोन गरी सोही स्थानमा बोलाएको हुँदा म समेत सो स्थानमा पुगेर एसएसपी श्याम खत्री सरलाई भेट्दा निजले मलाई बाबु हिजो तिमिले फोनमा गाली गरेको मानिस मेरो मान्छे हो निज राम्रो मानिस हो निजलाई गाली नगरिदिनु भनी भनेका थिए र मैले समेत हुन्छ सर भनी लगभग १० मिनेट जति सो स्थानमा बसि म आफ्नो डेरा कोठा थापाथली तिर लागे ।

सो पश्चात होलीको दिन बतिस पुतली स्थित बाजेको सेकुवा कर्नरमा पूर्वेली साथिहरुको होली मनाउने कार्यक्रम रहेको हुँदा म समेत सो स्थानमा गएको र सोहि कार्यक्रममा एक जना मानिस म भएको स्थानमा आई मलाई तपाई संजेल हो भनी सोध्दा मैले हो भने र निजले मलाई अस्ति तपाईलाई क्क्ए श्याम खत्रीको मानिस हुँ भनी फोन गर्ने मानिस मै हुँ र मेरो नाम गोरे भन्ने चुडामणी उप्रेती हो र मेरो घर समेत पूर्व तिरै हो भनी मलाई बताएको थियो ।

निज गोरे भन्ने चुडामणी उपे्रती केन्द्रिय अनुसन्धान ब्युरो सि.आई.बी.ले काठमाण्डौबाट पक्राउ गरेको ३३ के.जी. सुन मुद्दाको फरार अपराधी भन्ने सुनेको थिए ।

म भन्दा माथिका हाकिमहरुले भेट्ने र कुरा गर्ने र उक्त मुद्दा मिलाई सक्यो भन्ने सुनेको हुदा मैले पनि खासै वास्ता गरिन । सो पश्चात हामीहरुको कहिले काँही फोन सम्पर्क हुने गरेको थियो । निजले निजको सम्पर्कमा रहेका प्रहरी कर्मचारीहरुलाई मामा भनी सम्बोधन गर्ने गरेको र मलाई समेत निजले मामा भनी सम्बोधन गर्ने गरको थियो ।

यस्तैमा आज भन्दा ५र६ महिना अगाडि एक दिन प्र.ज.मेष बहादुर राना म संगै हुदा गोरे भन्ने चुडामणी उपे्रतीले मलाई फोन गरेर कार्गो अगाडि गैरी धारामा तस्करीको सुन आउदैछ, म पक्राई दिन्छु तुरून्तै आउनु भनेपछि मैल कति छ भनेर सोध्दा २० के.जी. छ भन्यो त्यसपछि मैले सई गजेन्द्र रावललाई मलाई तस्करीको सुन सम्बन्धी एउटा सुचना आयो भनेर रिपोर्ट गरे, अपराध महाशाखाबाट डि.एस.पी. अजय के.सी.सरको कमाण्डमा सई गजेन्द्र रावल पनि आउनु भयो ।

गोरे भन्ने चुडामणी उप्रेतीसंग सई गजेन्द्र रावल र मैले भेट्यौ । त्यो बेलामा अब देखि मलाई यसैबाट फोन गर्नु भनी सिम सहितको २ वटा सामसुङ मोबायल हामीलाई दियो । हामीले सुन कसरी पक्राउ गर्ने भनेर सल्लाह ग¥यौ । गोरे भन्ने चुडामणी उप्रेती गाडी नं. र सुन सम्बन्धी सबै सुचना दिएर फर्कियो । उ गए पछि मेलै निज जाने बित्तिकै मैले उक्त मोबायल झाडी तिर फाली दिए, सई साबले आफैले लानु भयो । निजले दिएको सुचना अनुसार हामीले सोहि दिन बागमती पुलमा मारूती भेन गाडीमा भित्री पार्टसमा लुकाई राखेको पौने २ के.जी. सुन र चालकलाई पक्रियौ ।

मैले त्यसपछि गोरे भन्ने चुडामणी उप्रतीलाई सुराकी बापत पाउने भत्ताको लागि कसको नाम राखौ भनेर फोन गर्दा मलाई पर्दैन, तपाईहरूले मिलाउनु भनेपछि सई साबले आफ्नो मान्छेको नाम राख्नु भएछ । त्यस पछि गोरे भन्ने चुडामणी उप्रतीले सई गजेन्द्र रावललाई फोन गरेर हुण्डी कारोबारको सुचना दिएछ, उसले नक्साल स्थितमा एक घर देखाएर गयो सोहि अनुसार अप्रेशनको लागि तयारी भएर बस्यौ । पैसा लिएर आउने मान्छेहरू उक्त घरमा नआए पछि काम भएन, सोहि अनुसार गोरे भन्ने चुडामणी उप्रतीलाई काम भएन भनेर सोध्दा ठिकै छ म फेरि अर्को सुचना दिन्छू भन्यो ।

गोरे भन्ने चुडामणी उप्रेतीले दिएको मोबायल सई गजेन्द्र रावल सरले २र४ दिन चलाउनु भएछ, सो कुरा मैले सरलाई पनि रिपोर्ट गरे भनेर मलाई बताउनु भएको थियो । म भाडामा बसेको घरका घर धनी कृष्ण दाहालले गौरीघाट नयाँबस्तीमा एउटा  घर गोरे भन्ने चुडामणी उप्रती संग खरिद गरेको रहेछ, घर धनी कृष्ण दाहालले घर किनेको सबै पैसा तिरी नसकेको हुँदा मलाई घर धनी कृष्ण दाहाल घरमा छ छैन भनेर फोन गरी रहन्थ्यो ।

त्यहि क्रममा आज भन्दा ३ महिना अगाडि गोरे भन्ने चुडामणी उप्रतीले मलाई म तपाई बस्ने गरेको घरमा आएको छु, कृष्ण दहाल कता छ? बुझि दिनु भनी फोन गरेर भन्यो र मैले निजलाई थाहा छैन भने । त्यस पछि पनि बिचमा कहिले काहि मलाई गोरे भन्ने चुडामणी उप्रतीले फोन गरी सामन्य कुरा गरीरहन्थ्यो ।

यस्तैमा मिति २०७४।११।१८ गते बिहान म मेरो हालको गोठाटार स्थित डेरा कोठामा रहेको समयमा मलाई गोरे भन्ने चुडामणी उप्रेतीले बिहान ०६ बजेर ३७ मिनेट २४ सेकेन्डमा मेरो मोवाईल नं.९८०३६७८००८ मा निजको मोवाईल नं.९८१८३७२८३६ बाट फोन गरी मामा मेरो सुन लुटीयो, म बर्बाद भए, मलाई सहयोग गर्नुपर्यो भनेपछी मैले निजलाई हावा कुरा नगर, फिक्स कुरा गर, अनिमात्र म अफिसमा रिपोर्ट गर्छु भनेको र निजले मलाई म पछी भन्छु भनी फोन राख्यो ।

त्यसपछी निजले मलाई पुनः फोन गरी म एकजान मान्छे भन्छु त्यो मान्छे म भएको ठाँउमा ल्याईदिनुपर्छ मलाई सहयोग गरिदिनुपर्छ भन्दा मैले निजलाई हुन्छ ल ठिक छ सबै कुरा बुझ म अफिसमा भन्छु भनेर फोन राखे । त्यसपछि सोहि दिन (मिति २०७४।११।१८ गते) दिनको १४ः०७ वजेतिर निज गोरे भन्ने चुडामणी उप्रेतीले मलाई फोन गरी यहाँ ईन्डीयनहरु आएर गोली हानेर मेरो साथी मारे, अरु भागे, मृतक लाश र निजलाई मार्ने घटनामा सम्लग्न १ जना मानिस यहि छ उसले घट्नाको जिम्मा लिन्छ, घटना स्वीकार गर्छ, मलाई बचाउनु प¥यो । कती खर्च लाग्छ ?

म ५ (पाँच ) करोड सम्म खर्च गर्छु भनेर निज गोरे भन्ने चुडामणी उप्रेतीले मलाई भनेपछी मैले निजलाई पख म एस.एस.पी.दिवेस लोहनी सरलाई कुरा गर्छु र तिमिलाई खबर गर्छु भनी फोन राखे । सो पश्चात मैले म कार्यरत रहेको एस.एस.पी. दिवेस लोहनी सरलाई सर मोरङमा एक जना तस्करीले मानिस मारेछ, मलाई फोन गरेको थियो भनि मैले सरलाई जाहेर गर्दा सरले कुरा मिलाउन त भनेर भनेपछी मैले हैन सर यो डेन्जर केस हो, गोली हानेर मान्छे मारेको भनेको छ के गर्ने सर त्यो फोन गर्ने गोरे भन्ने चुडामणी उप्रेतीसंग कुरा गर्ने कि नगर्ने भनी मैले सरलाई सोध्दा सरले मलाई निजसंग कुरा गर्दै अफिसमा चाँडो आउँ भनेर बोलाएपछी म निज गोरे भन्ने चुडामणी उप्रेतीसंग कुरा गर्दै अफिस आएर एस.एस.पी.दिवेश लोहनी सरलाई भेटे र मेरो निज गोरे भन्ने चुडामणी उप्रेतीसंग फोनमा भएको सबै कुरा सरलाई जाहेर गरे ।

सो पश्चात एस.एस.पी.दिवेस लोहनी सरले मलाई डि.एस.पी.प्रजित के.सी.सरलाई बोला भनेपछी मैले डि.एस.पी.प्रजित के.सी.सरलाई बोलाएँ । सोही समयमा मलाई एस.एस.पी.दिवेस लोहनी सरले एस.पी.सावहरुलाई पनि बोला भनेकोले मैले एस.पी.नरेन्द्र उप्रेती सर र एस.पी.उमाँशंकर पन्जियार सरलाई बोलए ।

सो पश्चात एस.एस.पी.दिवेस लोहनी सरले मलाई ल भएको के हो सबै कुरा बताउ भनी सोध्नु भयो । मैले गोरे भन्ने चुडामणी उप्रेती र म बिच फोनमा भएको सबै कुरा सरहरुलाई जाहेर गरे । मैल सो समयमा एस.एस.पी.दिवेश लोहनी सर लगायतलाई गोरे भन्ने चुडामणी उप्रेतीले केस मिलाई दिए बापत नेपाली रु.५ करोड दिन्छु भनेको कुरा सुनाउँदा एस.एस.पी.दिवेश लोहनी सरले ल त्यसो भए तिमी कुरा नगर सबै कुरा डि.एस.पी.प्रजीत के.सी.ले गर्दछन भनी मलाई भन्नुभयो ।

त्यसपछी ल तुरुन्त तिमीहरु प्लेनको टिकट गरेर मोरङ तिर गई हाल भन्ने आदेश भएपछी डि.एस.पी.प्रजित के.सी.सर र मैले समेत प्लेनको टिकटको लागी ट्राभल एजेन्सीहरुमा फोन गर्दा सोहि दिनको १६ः०० बजेको प्लेनको टिकट मिल्यो तर सो समयमा हामीहरु तयार भई एयरपोर्ट सम्म पुग्न नभ्याउने भएकोले हामीहरुले अफिसको गाडी नै लिएर जाने कुरा गरी डि.एस.पी.प्रजित के.सी.सर र म सरको घर काठमाडौंको बुढानिलकण्ठ तिर लाग्यौ ।

हामीहरु बुढानिलकण्ठ तिर जादै गरेको समयमा गोरे भन्ने चुडामणी उप्रेतीले मलाई पटक पटक फोन गरीरहेको थियो र सो समयमा डि.एस.पी.प्रजित के.सी.सरले र मैले निज गोरे भन्ने चुडामणी उप्रेतीसंग कुरा गरेको र सो समयमा डि.एस.पी.प्रजित के.सी.सरले निज गोरे भन्ने चुडामणी उप्रेतीलेसंग तत्काल नेपाली २ करोड लिने र पछी नेपाली ३ करोड लिने कुरा गरेको सुनेको थिए ।

हामीहरुले निजलाई हामीहरु सरको घरमा पुगरे खाजा खाएर हिडिहाल्छौ भन्दै कुरा गर्दै हामीहरु डि.एस.पी.प्रजित के.सी.सरको घरमा पुगी अं.१०ः१५ मिनेट जती बसेर हामीहरु निस्कियौ । हामीहरु सरको घरबाट बाहिर निस्कीने समयमा डि.एस.पी.प्रजित के.सी.सरले महानगरीय प्रहरी अपराध माहाशाखामा कार्यरत सवारी चालक प्रहरी जवान सुरेन्द्र कार्कीलाई र मैले सोहि कार्यालयमा कार्यरत प्रहरी जवान मेष रानालाई फोन गरी कोटेश्वरको प्रहरी कार्यालय अगाडी गाडि लिएर आउँ भनेर बोलाएको र हामीहरु लगभग ३० मिनेटमा सो स्थानमा पुग्दा प्रहरी जवान मेष राना र प्रहरी जवान सुरेन्द्र कार्की समेत महानगरीय प्रहरी अपराध महाशाखाको एक वटा गाडि लिएर सो स्थानमा आए पश्चात हामीहरु सबैजना सो गाडीमा चढी भक्तपुर, बनेपा, सिन्धुलीको बाटो हुदै पूर्ब तर्फ लाग्यौ ।

मैले कोटेश्वर बाट हिड्ने समयमा बनेपामा रहेको मेरो साथि ईन्द्रलाई फोन गरी हामीहरु आउदै छौ खाँजा बनाएर राखिराख्नु भनी अनुरोध गरेको र हामीहरु बनेपा पुग्दा निजले समेत खाजा तयार गरि राखेको हुनाले हामीहरु सो खाजा लिएर गाडिमा खाजा खादै अगाडि बढ्यौ ।

हामीहरु सिन्धूली पुग्दासम्म पटक पटक गोरे भन्ने चुडामणी उप्रेतीसंग हामीहरुको कुरा भई रहेको थियो । हामीहरू सिन्धुली पुगेर खाना खाई अगाडी लागेपछी निज गोरे भन्ने चुडामणी उप्रेतीले मेरो मोबाईलमा मलाई फोन गरी निजको मोवाईलमा ब्याट्रीको चार्ज सकिएर मोबाइल अफ हुन लागेको हुनाले निजले अर्को नम्बरबाट मलाई फोन गर्ने कुराको जानकारी दियो र पछी मलाई अर्को नम्बरबाट एक जना मानिसले फोन ग¥यो ।

म संग फोनमा कुरा गर्ने मानिस गोरे भन्ने चुडामणी उप्रेती नै होला भनेर मैले कुरा गरे तर मसंग कुरा गर्ने मानिस गोरे भन्ने चुडामणी उप्रेती हैन रहेछ भन्ने कुरा मैले थाहा पाएपछी मैले डि.एस.पी.प्रजित के.सी.सरलाई सर यो त गोरे भन्ने चुडामणी उप्रेती हैन रहेछ भनी जानकारी गराए । सो पश्चात डि.एस.पी.प्रजित के.सी.सरले तिम्रो फोन मलाई देऊ त म कुरा गर्छु भनी म संग फोन माग्नु भएको हुँदा मैले सरलाई मेरो फोन दिएँ र सरले पनि कुरा गर्नुभयो ।

सो फोनमा बोल्ने मानिस गोरे भन्ने चुडामणी उप्रेतीको मानिस रहेछ र निज गाडिमा लाश लिएर बसेको कुरा समेत निजले हामीहरुलाई बताएको थियो । सो समयमा हामीहरुले निजलाई गोरे भन्ने चुडामणी उप्रेती खै त भनी सोध्दा निजले हामीलाई गोरे भन्ने चुडामणी उप्रेती यतै छ भनी बताएको थियो । हामीहरु धरान तर्फ जाँदै गरेको समयमा गोरे भन्ने चुडामणी उप्रेतीको सो मानिससंग हामीहरुको पटक पटक फोन सम्पर्क भएको थियो र सो समयमा डि.एस.पी.प्रजित के.सी.सर र म समेतले निज मानिससंग फोनमा गफगाफ गरेका थिए ।

हामीहरुले निज मानिसलाई हामीहरु आउँदै छौ तिमी त्यही बसि राख भनेका थियौ । हामीहरु यसरी नै अगाडी बढीरह्यौ । हामीहरुले निज व्यक्तीलाई हामीहरुको वास्तविक लोकेसन नदिएर फरक फरक लोकेशन दिदै अगाडी बढेका थियौ । मिति २०७४।११।१९ बिहानको राती अं.१÷२ बजे तिर हामीहरु धरान पुगेर मैले मेरो नं.बाट गोरे भन्ने चुडामणी उप्रेतीको मानिसलाई फोन गरि हामीहरु धरानको भानुचोकमा छौं तिमी कता हो भन्दा निजले म नजिकै छु म आई हाले भनेर फोन राखेको केहि समयमा एउटा स्कापीयो गाडी हामिहरु भएको स्थानमा आयो ।

त्यो गाडी भानुचोकमा आई सो गाडिको चालकले मलाई फोन गर्यो । मैले ईसारा दिएपछी सो गाडी रोकी त्यो मान्छे हामीहरु नजिक आयो र त्यो मानिससंग हामीहरुले परीचय ग¥यो । परीचय गर्ने क्रममा नाम सोध्दा निजले निजको नाम टेकराज मल्ल ठकुरी रहेको र निज गोरे भन्ने चुडामणी उप्रेतीको मान्छे भएको कुरा समेत हामीहरुलाई जानकारी गरायो ।

हामीहरुले निजसंग केहीबेर घट्ना के हो र के कसरी के कुन स्थानमा घटेको हो भनी निजलाई सोध्दा निजले निजलाई पनि घट्नाको बारेमा खास कुरा थाहा नभएको, निज गोरे भन्ने चुडामणी उप्रेतीले निजलाई अपारध महाशाखाबाट आउने प्रहरी कर्मचारीहरुलाई भेट्नु सबै कुरा अपराध महाशाखाका प्रहरी कर्मचारीहरुले मिलाउने छन भनी बताएको र सोहि कारण निज हामीहरु भएको स्थानमा लास सहितको गाडि लिएर यहाँ आएको कुरा हामीलाई भनेपछि निजलाई हामीहरुले गोरे भन्न चुडामणी उप्रेती खै त ? केस मिलाउँन त गोरे भन्ने चुडामणी उप्रेती चाहिन्छ भनेर भन्दा निजले दाई यतै हुनुहुन्छ भनेर हामीलाई जानकारी गरायो र हामीहरुले निजलाई गोरे भन्ने चुडामणी उप्रेतीलाई फोन लगाऊ भन्दा निज टेकराज मल्ल ठकुरीले गोरे भन्ने चुडामणी उप्रेतीको फोन अफ छ भनी हामीहरुलाई बतायो ।

सो पश्चात हामीहरुले निज टेकराज मल्ल ठकुरीलाई यो घट्नामा संलग्न अरु को को छन भनी सोध्दा निजले अरु २ जना मानिसहरु समेत सो घट्नामा संलग्न रहेको कुरा हामीहरुलाई गरेको हुँदा हामीहरुले निज टेकराज मल्ल ठकुरीलाई ति मानिसहरुलाई समेत फोन गरी बोलाऊ भनेको र निजले तिनीहरुको पनि फोन अफ छ भोली बिहान बोलाउँछु भनी हामीहरुलाई भनेको थियो ।

सो पश्चात हामीहरुको ईटहरीको कुनै होटेलमा गएर केही समय रेष्ट गर्ने सल्लाह भएको र सोही बमोजिम म, मेष राना र टेकराज मल्ल ठकुरी निज टेकराज मल्ल ठकुरीले चलाएको लाश सहितको गाडिमा चढ्यौ भने डि.एस.पी.प्रजित के.सी.सर र प्रहरी जवान सुरेन्द्र कार्की प्रहरीको गाडिमा चढे । हामीहरु ईटहरीमा गई एउटा होटल खोजेर सो होटेलमा ३ वटा रुम लिएर केही समय रेष्ट ग¥यो । सो होटेलको एक रुममा डि.एस.पी.प्रजित के सी सर, अर्को एक रुममा म र अर्को एस रुममा टेकराज मल्ल ठकुरी, प्र.ज. मेष राना र प्र.ज.सुरेन्द्र कार्की बसेका थियौ । होटेलको नाम र रुम नं.हरु हाल मलाई यकिन भएन ।

हामीहरु सो होटेलमा पुग्दा बिहानको अन्दाजी ३÷४ बजेको थियो होला । हामीहरु सो होटेलमा बस्दा लाश भएको गाडी र हाम्रो गाडि पहिले होटेलको अगाडि संगै पार्कीङ गरेकोमा केही समय पश्चात प्रहरी जवान मेष रानाले स्कारपियो गाडि र मैले हामीहरु आएको प्रहरीको गाडि चलाएर हामीहरु ई.प्र.का.ईटहरीमा पुगेर सो स्थानमा प्रहरीको गाडि पार्किङ गरेर स्कारपियो गाडिमा हामीहरु बसेको होटेलमा आएर सुत्यौ ।

हामीहरु पालै पालो गाडीको निगरानी गर्दै सो होटेलमा आराम गर्यौ र बिहान अन्दाजी ०५ः३० बजे तिर म सुती रहेको थिए, गोरे भन्ने चुडामणी उप्रतीले मलाई फोन गरी निजले टेकराज मल्ल ठकुरीलाई फोन गरे फोन नउठेको कुरा हामीहरुलाई बताएर हामीहरुलाई तपाईहरू कहाँ हो भनेर सोध्यो ।

मैले हामी ईटहरीमा छौ भनी निजलाई तिमीले के गरेको ? छिटो आउ, तिम्रो लागि भनेर म त्यति टाडाबाट आए, मलाई नराम्रो भयो, तिमी जसरी पनि आउ, ३÷४ जना मान्छे चाहिन्छ, काचो कागज र ल्याप्चे पनि लिएर आउ ५ मिनेटको काम छ, मुचुल्का गरे पछि तिमी जाँदा हुन्छ भने । उसले हुन्छ म आउछु भन्यो । म निजसंग बोलिसकेपछी उठी टेकराज मल्ल ठकुरी सुतेको कोठामा जादा निज रुदैं गोरे भन्ने चुडामणी उप्रेतीसंग बोल्दै थियो ।

सो समयमा डि.एस.पी.प्रजित के.सी.सरसंग पनि गोरे भन्ने चुडामणी उप्रेतीको फोनमा कुरा भयो निजले फोन राख्यो । सो पश्चात हामीहरुले केश मिलाउन घट्नामा संलग्न कोही मानिस त चाँहियो नी भनी टेकराज मल्ल ठकुरीलाई भन्दा निजले घट्नाको बारेमा हामीहरुलाई बास्तविकता बतायो । हामीहरुलाई निजले घट्नामा गोरे भन्ने चुडामणी उप्रेती, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र निज स्वयं लगायत १५÷१६ जना मानिसहरुको संलग्नता रहेको भनी बतायो ।

सो पश्चात हामीहरुले पनि टेकराज मल्ल ठकुरीलाई मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई फोन गरि बोलाऊ भन्यौं र निजले तिनीहरुलाई फोन गरेर बोलाएको केही समयमा एउटा सिल्भर रंगको टाटा पिकअप गाडीमा कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले त्यहाँ आई पुगे । हामिहरुले निजहरुलाई सोधपुछ गर्दा निजहरु गोरे भन्ने चुडामणी उप्रेतीको लागि काम गर्ने रहेछन् । उनीहरुले समेत करेन्ट लगाएर सनम शाक्यलाई मार्ने टेकराज मल्ल ठकुरी समेत रहेको कुरा हामीहरुलाई बताए ।

निजहरुले हामीहरुलाई बताए अनुसार गोरे भन्ने चुडामणी उप्रेती, सुरेन्द्र गौतम, रोहीत आचार्य, टुक बहादुर राना मगर लगायत १५÷१६ जनाले सनम शाक्य, मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की लगायतलाई नियन्त्रणमा लिएर शारिरीक यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको कुरा हामिहरुलाई बताएका थिए ।

सो पश्चात घट्नामा सम्बन्धीत अन्य व्यक्तीहरुलाई तत्काल सम्पर्कमा ल्याउन समय लाग्ने जस्तो देखिए पछी त्यहाँ भएका सम्पुर्ण कुराहरु डि.एस.पी.प्रजित के.सी.सरले एस.एस.पी.दिवेस लोहनी सरलाई रिपोर्ट गरि गाडी कहाँ सर्च गरौ भनेर सोध्नु भएको र एस.एस.पी.दिवेश लोहनी सरले डि.एस.पी.प्रजित के.सी.सरलाई ईटहरीमा गाडि सर्च गर्दा ईटहरीको डि.एस.पी.संजय बहादुर राउतसंग गोरे भन्ने चुडामणी उप्रेतीको चिनजान रहेको कुरा मलाई जानकारी गराउनु भयो ।

सोही समयमा कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले समेतले गोरे भन्ने चुडामणी उप्रेतीले अघिल्लो दिन मात्र ईटहरीका डि.एस.पी.संजय बहादुर राउतसंग भेटघाट गरेको थियो भनी हामिहरुलाई जानकारी गराएका हुँनाले सो ठाँउमा गाडि सर्च हुँदा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले मोरङको कुनै स्थानमा सर्च गर्ने भनी एस.एस.पी.दिवेश लोहनी सर र डि.एस.पी.प्रजित के.सी. सर बिच सर–सल्लाहा भए बमोजिम लाश भएको गाडी टेकराज मल्ल ठकुरीले चलाई त्यसमा प्र.ज.मेष राना, हाम्रो अफिसको गाडीमा डि.एस.पी.प्रजित के.सी., चालक प्र.ज.सुरेन्द्र कार्की र कृष्ण भन्ने नरेन्द्र कार्की र अर्को मे १ च ५३९५ नं.को गाडीमा म र चालक मोहन काफ्ले बसी बिराटनगरको पोखरीयामा पुगेर गाडी रोकी सर्च गर्दा लाश गाडी भित्रै भएको एकीन भयो ।

हामिहरु सो स्थानमा गाडि सर्च गर्दा वरिपरि मानिसहरुको भिडँभाड बढ्दै थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङमा समन्वय गरि प्र.नि.लक्ष्मी भण्डारी नेत्रृत्वको प्रहरी टोली सो स्थानमा आई सो स्थानमा रहेका मानिसहरुलाई व्यवस्थापन गरेको र हामिहरुले समेत टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण भन्ने नेरन्द्र कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टिलीलाई जिम्मा लगायौ ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले लास जाँच मुचुल्का गर्न थाल्यो । मुचुल्का गर्दा गर्दै गोरे भन्ने चुडामणी उप्रेतीले मेरो मोबाइलमा फोन गर्यो र मैले निज गोरे भन्ने चुडामणी उप्रेतीलाई डि.एस.पी.प्रजित के.सी.सरसंग कुरा गर्नु भनेर मेरो फोन डि.एस.पी.प्रजित के.सी.सरलाई फोन दिएँ ।

सरले फोन राखी सकेपछी मैले गोरे भन्ने चुडामणीउ उप्रेतीसंग हजुरको के कुरा भयो सर भनी डि.एस.पी.प्रजित के.सी.सरलाई सोध्दा निजले गोरे भन्ने चुडामणी उप्रेतीलाई अझै केही बिग्रीएको छैन तिमी आऊ, तिमीलाई सहज हुन्छ, सत्य कुरा बाहिर आउँछ भनेर भनेको कुरा मलाई बताउनु भयो ।

मेरो मोवाईलमा कल रेकर्ड नहुने हुनाले मलाई डि.एस.पी.प्रजित के.सी.सरले तिम्रो सिम झिक अब म तिम्रो सिम मेरो मोबाइलमा लगाई निज गोरे भन्ने चुडामणी उप्रेतीले के के कुरा भन्छ मेरो मोबाइलमा रेकर्ड हुन्छ, निजको कुरा रेकर्ड गर्नुपर्छ भनि भन्नु भएकोले मैले मेरो मोवाईलमा रहेको नं.९८०३६७९००८ भएको सिम डि.एस.पी.प्रजित के.सी.सरलाई दिएँ र डि.एस.पी.प्रजित के.सी.सरले मेरो सिम सरको मोबाइलमा हाल्नु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङको टिमले लाशजाँच प्रकृती मुचुल्का सके पश्चात हामीहरु समेत डि.एस.पी.प्रजित के.सी.सरको आफन्तको घरमा गई खाना खाएर केही समय आराम गरि जिल्ला प्रहरी कार्यालय मोरङ गयौँ । हामीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा अं.१÷२ घन्टा बसेर पश्चात डि.एस.पी.प्रजित के.सी.सर मेरो सिम सहित निजको आफन्तको घर तर्फ जानुभयो भने हामीहरु जिल्ला प्रहरी कार्यालय मोरङको ब्यारेकमा गएर आरामा गरी बस्यौ ।

सो दिन लगभग १६ः०० बजेको समयामा जिल्ला प्रहरी कार्यालय मोरङको टिम र म समेत कृष्ण भन्ने नरेन्द्र कार्की समेतलाई लिएर जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.१ स्थित घट्नास्थल तिर गयौ र सोहि रात अन्दाजी २०ः३० बजेको समयाम हामिहरु पुनः जिल्ला प्रहरी कार्यालय मोरङ पुगेको र सो पश्चात म, प्र.ज.मेष राना र प्र.ज.सुरेन्द्र कार्की सुनसरी जिल्लाको ईटहरीमा गएर एक होटेलमा बस्यौ । भोलिपल्ट मिति २०७४।११।२० गते बिहान उठी हामीहरु सबै जना धरानको बुढा सुब्बा मन्दीर गयौ । त्यसपछी १०ः०० वजे तिर हामीहरु जिल्ला प्रहरी कार्यालय मोरङ गयौ ।

जिल्ला प्रहरी कार्यालय मोरङ गएपछी डि.एस.पी.प्रजित के.सी.सरलाई हामिहरु धरानबाट आई पुग्यौं भनी जानकारी गराउँदा सरले म भएको स्थानमा मलाई लिन आऊ भनी हामीलाई बोलाउनु भएको हुँदा प्रहरी जवान सुरेन्द्र कार्की सरलाई लिन गयो । डि.एस.पी.प्रजित के.सी.सर जिल्ला प्रहरी कार्यालय मोरङमा आए पश्चात सोही दिनको अं.१०÷११ बजे तिर मैले डि.एस.पी.प्रजित के.सी.सरलाई मैले मेरो सिम दिनुहोस मेरो प्राईभेट कल समेत आउछ भनी सरले प्रयोग गरेको मेरो सिम मागे र सोही क्रममा मैले डि.एस.पी.प्रजित के.सी.सरलाई सर गोरे भन्ने चुडामणी उप्रेतीसंग हजुरको के के कुरा भयो भनी सोध्दा निजले मेरो गोरे भन्ने चुडामणी उप्रेतीसंग कुरा भईरहेको छ, निज चुडामणी उप्रेतीले मलाई सिङ्गापुर तिर भेटौला भनेको छ, निजसंग राम्रै कुरा भई राखेको छ, ठीक छ हेरौं भन्नु भयो । त्यसपछी मैले मेरो सिम मेरो मोबाइलमा हाले ।

त्यसपछी सो दिन वेलुकी डि.एस.पी.प्रजित के.सी.सर समेत हामी ४ जना नै ईटहरी गएर ईटहरीको होटलमा बसी मिति २०७४।११।२१ गते काठमाण्डौ आएका हौं । यत्तिकैमा अफिस गएको १÷२ दिन पछि हामीहरुले जिल्ला मोरङ बिराटनगर म.न.पा.वा.नं.३ स्थितमा फेला परी जिल्ला प्रहरी कार्यालय मोरङलाई जिम्मा लगाएको लास हामीहरुले पहिले नै धरानमा फेला पारी बिराटनगर पुर्याएको भनी बिभिन्न पत्र पत्रिकामा आए पछि अब हामीले गोरे भन्ने चुडामणी उप्रतीलाई जसरी पनि समात्नुपर्छ भनी एस.एस.पी.दिवेस लोहनी, डि.एस.पी.प्रजित के.सी. अपराध महाशाखाकै सई गजेन्द्र रावल र म भई सल्लाह भएपछि निजलाई पक्राउ गर्न निजको श्रीमती र आफन्तलाई फकाई फुल्याई गरी पक्राउ गर्नको लागि गोरे भन्ने चुडामणी उप्रतीको श्रीमती निरू भन्ने नर्बदा खरेल उप्रेतीसंग फोन सम्पर्क गरी भेट्ने कुरा भई सोहि अनुसार काठमाण्डौको गैरीगाउ स्थित बाजेको सेकुवामा भेट्ने सल्लाह भई सो कुरा एस.एस.पी.दिवेस लोहनीलाई समेत जाकारी गराएपछि एक्लै नजानु सि.आई.बी.का डि.एस.पी.अंगुर जि.सी.लाई लिएर जानु वहासंग कुरा गर्छु भन्नु भयो र मलाई डि.एस.पी.अंगुर जि.सी.को फोन नं. दिनु भयो मैले डि.एस.पी. अंगुर जि.सी.संग फोन सम्पर्क गरेपछि सि.आई.बी.को कार्यालयमा बोलाउनु भयो र म त्यहा गई भेट भयो त्यस पछि म र डि.एस.पी.अंगुर जि.सी मैले चलाउने गरेको स्कुटीमा चढी बाजेको सेकुवा रहेको ठाँउ गैरीगाऊ गई निज गोरे भन्ने चुडामणी उप्रेतीको श्रीमती निरू भन्ने नर्बदा खरेल उप्रेतीसंग भेट भई कुराकानी हुदा डि.एस.पी. प्रजित के.सी.ले गोरे भन्ने चुडामणी उप्रेतीलाई फोनमा गाली गरेपछि डराएको र सरहरूसंग भेट्न नआएको कुरा जानकारी गराईन । मैले चाडो ल्याउनु भन्दै निज निरू भन्ने नर्बदा खरेल उप्रेतीलाई फकाएर कुरा गरे ।

केहि खबर आयो भने हामीलाई जानकारी गराउनु भनी हामी त्यहाबाट फर्कियौ । सो पश्चात पनि गोरे भन्ने चुडामणी उप्रेतीको बारेमा मैले निरू भन्ने नर्बदा खरेल उप्रेतीलाई फोन गरी सोध्दा २/४ दिन पश्चात आउने कुरा गर्थिन र २/४ दिन पश्चात समेत कुरा गर्दा गोरे भन्ने चुडामणी उप्रेतीसंग निरू भन्ने नर्बदा खरेल उप्रेतीको सम्पर्क  नभएको कुरा बताएपछि निजसंग मैले फोन सम्पर्क गर्न छाडी दिए ।

त्यस पश्चात बिभिन्न अनलाईन खबर पत्र पत्रिकाहरुमा प्रहरीको मिलेमतोमा सुन तस्करी भएको र धरानमा फेला परेको शव शाक्यको लाशलाई नाटकिय शैलीमा बिराटनगर पु¥याई पक्राउ गरियो भन्ने जस्ता बिभिन्न समाचारहरू छापिन थालेपछि गृह मन्त्रालयबाट बिशेष अनुसन्धान टोली गठन भई बयानको लागि गृह मन्त्रालय बोलायो ।

त्यहा म लगायत एस.एस.पी.दिवेस लोहनी, डि.एस.पी.प्रजित के.सी.र हामीसंग जाने प्र.ज.मेष राना र प्र.ज.सुरेन्द्र कार्कीलाई छुट्टा छुट्टै बयान लिई पक्राउ गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी बालकृष्ण संजेलको वयान ।

प्रतिक्रिया दिनुहोस
Advertisement