गोरखा- आफ्ना तीनै जना सन्तानमा अपांगता भएपछि शहिद लखन गाउँपालिका–७ का धनबहादुर श्रेष्ठले ठूलो दुःख खेप्दै आएका थिए । त्यसमाथि २०७२ को भूकम्पले घर भत्काइदिएपछि उनलाई झन् समस्या थपियो । नयाँ घर बनाउन नसकेपछि उनी त्यही भत्केको घरमा बाध्य भए ।
तर, शहीद लखन–७ का अध्यक्ष शरण श्रेष्ठ धनबहादुरलाई घर बनाइदिने अभियानमा जुटे र सहयोग रकम संकलन गर्न थाले । घर बनाउन पुग्ने रकम जम्मा भएपछि शरणको सपना पूरा हुने भएको छ । सामाजिक कार्यमा जुट्दै आएका उनको पहलमा करिब ९ लाख ६९ हजार ३८७ रुपैयाँ रकम जम्मा भएसँगै धनबहादुरलाई नयाँ घरमा बसाउने अभियान पूरा हुन लागेको हो ।
वडाअध्यक्ष श्रेष्ठका अनुसार अहिले घरको निर्माणका लागि जग खन्नेदेखि निर्माण सामग्री ढुवानी गर्नेसम्म काम भएको छ । उनले भने, ‘हामीले स्थानीय स्तरमै ठेक्का दिएका छौं, घरनिर्माणका लागि दक्ष जनशक्ति अभाव छैन ।’ करिब १५ लाख लागतमा बन्ने भनिएको घर जेठको पहिलो हप्ताभित्र धनबहादुरको परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको श्रेष्ठले बताए ।
प्रतिक्रिया