बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीको मन मस्तिकमा छः राष्ट्रपति राजापाक्ष


काठमाडौं – श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको बताएका छन् । साथै उनले निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् ।

राजापाक्षले भनेका छन्, ‘भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।’

सोमबार प्रधानमन्त्री ओलीले राजापाक्षेलाई बधाई दिँदै दुई देशको ऐतिहासिक बहुपक्षीय सम्बन्धलाई अझ मजबुद् बनाउन राजापाक्षेसँग मिलेर काम गर्न आतुर रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement