राजदूतको मापदण्ड : ट्रयाक रेकर्ड हेरिने, स्नातक र अंग्रेजी भाषा अनिवार्य


काठमाडौं– अब राजदूत वा कुटनीतिक नियोगको प्रमुख नियुक्ति अघि पृष्ठभूमि र ट्रयाक रेकर्ड हेरिने भएको छ।

यसअघि परराष्ट्र मन्त्रालयका सहसचिवबाट राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने बाहेककोका लागि निश्चित मापदण्ड नरहेपनि शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले मापदण्ड स्वीकृत गरेको थियो।

स्वीकृत मापदण्डमा अब राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक र अंग्रेजी भाषामा दख्खल हुनुपर्ने उल्लेख छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार राजदूत हुने व्यक्तिका लागि एक दर्जन मापदण्ड बनाइएको छ । जुन मुलुकका लागि राजदूत बनाइने हो, त्यहाँका बारेमा न्यूनतम जानकारी राख्ने र विज्ञता हासिल भएको हुनुपर्ने उनले बताए।

राजदूत नियुक्ति गर्दा सामान्यतः ५० प्रतिशत परराष्ट्रका कर्मचरीबाट र ५० प्रतिशत बाहिरबाट पठाइदै आएकोमा सो विषयलाई मापदण्डमा राखिएको छ। उनका अनुसार कुनै पनि मुलुक वा नियोगको राजदुत खाली हुनुभन्दा तीन महिनाअघिबाटै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइने छ।

भारत, मलेसिया, संयुक्त अरब इमिरेटस् र संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क) राजदूत पद रिक्त रहेको छ। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले १० महिना अघि राजीनामा दिएपछि त्यहाँ राजदूत पद रिक्त छ।

क्यानडा, दक्षिण अफ्रिका, थाइल्यान्ड, फ्रान्स, कुवेत, ब्राजिल र राष्ट्रसंघीय नियोग जेनेभामा पनि केही महिनामै राजदूत खाली हुँदैछन्।

नेपालका विभिन्न ३० मुलुकमा दूतावास छ। न्युयोर्क, जेनेभा र भियनामा राजदूतस्तरको स्थायी नियोग छ। यसैगरी, ६ स्थानमा महावाणिज्य दूतावास र ६५ स्थानमा अवैतनिक महावाणिज्य एवं वाणिज्य दूतावास छन्।

१३ असारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने संसदमा बताएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement