गभर्नर अधिकारीको रिटमाथि सुनुवाई आज, महाप्रसादले पाउलान त निरन्तरता ?


काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदातलमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर अधिकारीले दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको, सुझाव माग्दा नदिएको लगायतका आरोप लगाउँदै जाँचबुझ गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए ।

आफू निलम्बनमा परेसँगै गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए । चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गतेका लागि छलफलमा बोलाएको थियो । दुवै पक्षबीच छलफल गराएपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा आज निर्णय हुनेछ ।

सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता दिएको अवस्थामा गभर्नर अधिकारी उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न पाउनेछन् भने सरकारले थप छानबिन गर्न पाउने छैन । तर अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएको अवस्थामा भने उनी निलम्बनमा पर्नेछन् र राष्ट्र बैंकको नियमित कामकाज गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement