शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद

शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग अनौपचारिक संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम – शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी शनिबार धनगढी पुगेका हुन् ।

सचिव पौडेलले शनिबारै डा. केसीसँग उनी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका छन् । त्यस क्रममा डा. केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आईतबार  उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए ।

‘आज डा. केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आईतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ,’ सचिव पौडेलले भने ।

सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ थियो ।

डा. केसी विभिन्न ५ बुँदे माग राखी ३ दिनदेखि अनसनमा बसेका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि अनशनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट शनिबारै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि राखिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले डा. केसीसँग शनिबार सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताए ।