गुल्मी-२ मा गोकर्णलाई रामकुमारीको डर


काठमाण्डु- नेकपा एमालेका नेता शेषकान्त गौतमले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई आउँदो चुनावमा सहयोग गर्ने भएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गौतमले आइतबार सत्ता गठबन्धनकी उम्मेदवार झाँक्रीलाई सघाउने सार्वजनिक रूपमा घोषणा गरेका हुन्।

झाँक्री गुल्मीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छिन्। यता नेकपा एमालेबाट गुल्मी २ मा एमालेका तर्फबाट गोकर्ण विष्ट प्रतिस्पर्धामा छन्। नेता गौतमले नेकपा एसकी नेतृ झाँक्रीलाई सगाउने निर्णय गरेसँगै गुल्मी २ मा गोकर्ण विष्टको सम्भावना कमजोर देखिएको आँकलन गरिएको छ ।

‘कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरूलाई आफूले सहयोग गर्न नसकेको’ नेता गौतमले उल्लेख गरेका छन्। गौतमले नेता विष्टलाई लक्षित गरेर यस्तो बताएका हुन्। आफूले एमाले पार्टी नछोडेको तर पार्टीले कुनै कारवाही गरेमा त्यसको परिणाम भोग्न तयार रहेकोसमेत गौतमले दावी गरे ।

०७४ सालको चुनावमा नेकपा एमालेबाट समानुपातिक सांसद भएकी झाँक्री अहिले गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार छन्। २०७८ भदौ २ मा एमालेबाट फुटेर एकीकृत समाजवादी बनेपछि झाँक्री एकीकृत समाजवादीतिर लागे पनि गोकर्ण विष्ट भने एमालेमै बसे । जसले गर्दा गुल्मीमा एमालेको विभाजन ‘ठूलो’ भएन । अहिले एमालले पुनः विष्टलाई नै अगाडि सारेको छ।

कुनैबेला गोकर्ण विष्टका लागि मत माग्न हिडेकी झाँक्री अहिले उनैको प्रतिस्पर्धी बनेकी छन्। यसले गुल्मी–२ को निर्वाचन निकै रोचक बन्ने आकलन छ । त्यस कारण मंसिर ४ गते हुने निर्वाचन निकै महत्त्वका साथ हेरिएको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले ३१ हजार २५३ मत पाएको थियो । यहाँ सत्ता गठबन्धनको मत ३२ हजार ४२१ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement