नेकपा विवादमा चीनको चासो, चिनियाँ उपमन्त्री आज नेपाल आउँदै


काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ आज नेपाल आउँदैछन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल चार दिने भ्रमणका लागि आज  काठमाण्डु आउने भएको हो ।

उपमन्त्री गुओ राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद् विघटन गरेपछि नेपाल आउने पहिलो विदेशी अधिकारी हुनेछन् । नेकपाका प्रचण्ड–माधव समूहको विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको बताए ।

उनको टोलीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दुवै खेमाको नेतृत्व र काँग्रेसका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । यद्यपि, भेटवार्ताको कार्यतालिका भने सार्वजनिक भएको छैन ।

नेकपा विवादमा चीनले चासो देखाइरहेको बेला उपमन्त्री गुओको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ । यसअघि, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि संसद विघटनपछि राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् ।

पुस ५ मा संसद विघटन भएपछि उनले नेकपा नेता माधवकुमार नेपाल, कृष्णबहादुर महरा, अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनलाई भेटेर छलफल गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement