काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् ।
संसद्को राज्यव्यवस्था सुशासन समितिको बिहीबार बसेको बैठकमा शाहीले ठूला नेताहरू जोडिएका भ्रष्टाचारको मुद्दा अघि नबढाएको आरोप लगाए ।
अख्तियारले माओवादीको लडाकु शिविर, गिरिबन्धु टी इस्टेट प्रकरण, तारागाउँ जग्गा शेयर प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, ओम्नी घोटाला र एनसेल काण्डको मुद्दा किन अघि नबढाएको भन्दै उनले प्रश्न गरे।
१८२ सीट जितेर आएको रास्वपा सरकारले पनि सुशासनको पक्षका काम गर्न नसकेको आरोप शाहीले लगाए। पहिलाका कांग्रेस-एमालेले अख्तियारमा पार्टीका कार्यकर्ता भर्ती गरेजसरी अहिले रास्वपाले पनि गर्न खोजेको उनको भनाइ छ ।
उनले अख्तियारका आयुक्त र प्रमुख आयुक्त हुने व्यवस्था संवैधानिक परिषदबाट नभई खुला प्रतिस्पर्धाबाट गर्न सुझाव दिए ।
उनले मन्त्रिपरिषद्का निर्णयमा अख्तियार नलाग्ने व्यवस्था हटाउन पनि आग्रह गरे।




प्रतिक्रिया