भारतबाट फर्केको भोलिपल्ट पूर्वराजा ज्ञानेन्द्र शाहले दिए यस्तो चेतावनी


काठमाडाैं–पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचनलाई मात्र प्रजातन्त्रको रुपमा व्याख्या नगर्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका छन्।

दुई साता लामो भारत भ्रमणबाट फर्केको भोलिपल्ट आइतबार वक्तव्य जारी गर्दै शाहले भनेका छन्, ‘ प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न। देशको राष्ट्रियता, राष्ट्रिय एकता, र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर व्यवस्थामात्र प्रजातान्त्रिक हुनसक्छ।’

६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शाहले प्रजातन्त्रमा सबैले सम्मानित महशुष गर्दछन् भन्ने विश्वव्यापी मान्यता र विश्वास रहेको स्मरण गराएका छन्।

‘तर प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनैपनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन? यो वर्तमानमा जनतामा ज्वलन्त प्रश्न बनेर उब्जिएको छ,’ वक्तव्यमा भनिएको छ।

२०६३ यताको स्थिति प्रजातन्त्र नभएको र त्यसको समीक्षा गर्नुपर्ने बेला आएको जिकिर गर्दै शाहले ०६३ को परिवर्तन आफूमा निहित अधिकारबाट भएको दावी गरेका छन्।

‘२०६३ वैशाख ११ गते हामीमा निहित राजकीय सत्ताको प्रयोग गरी भएको राजनीतिक परिवर्तन पछिको दशकमा देश र जनताका हितप्रति सम्बेदनशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको छ, त्यसको समीक्षाको समय आएको छ,’ उनले अगाडि भनेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement