काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् एवं प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमा उनले राजनीतिक परिवर्तनपछि अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरैको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम परिवर्तन किन भएन भन्ने प्रश्न गरेका छन् । धेरै परिवर्तन भएपछि समेत सिंहदरबारको पुरानै हाउभाउ र भावभंगीमा परिवर्तन नआएको उनको भनाइ थियो ।
‘परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा हामीसँग सिंह नै छैन, तर सिंहदरबार भन्ने चिजको नाम चाहिं परिवर्तन भएन । अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो परिवर्तन पछाडि’, उनले भने, ‘तर त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभंगीहरु बदशाहजस्तै छ । त्यो चिर्नुपर्ने छ ।’
ढकालले सिंहदरबारका भित्ताहरुमा आफूले अहिले पनि कुशासनका राग र गन्धहरु अनुभूत गरिरहेको उल्लेख गरे ।
‘म जुन पदमा छु, त्यो पदमा रहेर सिंहदरबारका भित्ताहरु यसो हेर्दाखेरि ती ८० वर्षदेखिका रागहरु, ती गन्धहरु म अझै पनि अनुभूति गर्छु । छ त्यो लिगेसी’, ढकालले भनेका छन् ।




प्रतिक्रिया