बालेनलाई हर्क साम्पाङको प्रश्नः जननिर्वाचित संसदप्रति जवाफदेही हुनुहुन्न भने कोप्रति जवाफदेही हुनुहुन्छ ?

बालेनलाई हर्क साम्पाङको प्रश्नः जननिर्वाचित संसदप्रति जवाफदेही हुनुहुन्न भने कोप्रति जवाफदेही हुनुहुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदको सदस्य हो कि होइन ? भन्ने पश्न गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै श्रम संस्कृतिका सांसदहरुले उठेर प्लेकार्डसहित विरोध प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद (डिपी) अर्यालले राईलाई आकस्मिक समयमा बोल्न समय दिएका थिए ।

राईले सरकारलाई संसदप्रति जवाफदेही बनाउन पटकपटक प्रश्न सोधेको तर, जवाफ नपाएको भन्दै आपत्ति जनाए । आफूसहित सांसदहरुले प्रधानमन्त्री शाहले सम्हालेका गृह, रक्षासहित मन्त्रालयसँग सम्बन्धित प्रश्न राखेकाले जवाफ शाहले नै दिनुपर्ने उनको भनाइ थियो ।

राईले संसद् नियमावलीको नियम १५ को उपनियम (२) को व्यवस्था सभामुखलाई स्मरण गराए । उक्त व्यवस्थामा प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले एक साताभित्रमा दिनुपर्ने उल्लेख छ ।

‘नियमावली बमोजिाम माननीयहरुले उठाउनुभएका, सांसदज्यूहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? म प्रश्न राख्न चाहन्छु । मैले ०८३ साल १ महिना २८ गते र २९ गते केही प्रश्नहरु राखेको थिएँ । जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए । रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए । केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु थिए । ती प्रश्नहरुको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु । किनभने उहाँले मन्त्रिपिर्षद विस्तार गर्नुभएको छैन । गृह मन्त्रालयको जिम्मा पनि उहाँले लिइराखेको कारणले गर्दाखेरि सुकुमबासीलगायत शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा पनि मेरा प्रश्नहरु थिए’, राईले भने ।

उनले थपे ‘र समीमासँग सम्बन्धित, लिपुलेकसँग सम्बन्धित विभिन्न खालका प्रनहरु हामीले सोेधेका छौं, मलगायत अन्य सांसदहरुले । रक्षा मन्त्रालय पनि उहाँले सम्हालिराखेको कारणले गर्दाखेरि प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ । हाम्रो नियमावलीको उपनियम (२) ले त्यो भनिराखेको छ । २८ गते राखेको प्रश्न आज गन्दाखेरि १० दिनजति भइसक्यो । त्यो उपनियममा भनिएको कुरा के छ भने ७ दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावलीमा छ । त्यसो भएको कारणले गर्दाखेरि म प्रश्न गर्न चाहन्छ । हाम्रो प्रधानमन्त्रीज्यूलाई सभामुखज्यूमार्फत म प्रश्न गर्न चाहन्छु । उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन । हामी सबैले लोकतन्त्रको यो संसदको गरिमालाई जोगाइराख्नु पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नु पर्छ कि पर्दैन ।’

कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्री शाहले पदबाट राजीनामा दिनुपर्ने माग उनको थियो । लोकतन्त्रद्वारा स्थापित र नेपाली जनताले निर्वाचित गरेको संसदप्रति जवाफदेही नभए प्रधानमन्त्री कोप्रति जवाफदेही छन् भन्ने प्रश्न गरे ।

‘म यो प्रश्न गर्न चाहन्छु । यदि उहाँले यो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रसस्त गर्दा राम्रो हुन्छ । उहाँले नेपाली लोकतन्त्रद्वारा स्थापित, जनताले निर्वाचित गरेको संसदप्रति जवाफदेही हुनुहुन्न भने को प्रति जवाफदेही हुनुहुन्छ ? । शंका गर्नुपर्ने ठाउँ छ । कोही न कोही प्रति त उहाँ जवाफदेही हुनुहोला नि ?’


सभामुख अर्यालले राईले संसदमा राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।