नेपाली सेनाबाहेक अर्को सेना हुनै सक्दैन, सरकारले ‘हिन्दू सम्राट सेना’ खारेज गरोस्ः हर्क साम्पाङ

नेपाली सेनाबाहेक अर्को सेना हुनै सक्दैन, सरकारले ‘हिन्दू सम्राट सेना’ खारेज गरोस्ः हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूसहित पार्टीका नेताहरुमाथि जनकपुरस्थित जानकी मन्दिरमा दुव्र्यवहार भएको विषय संसदमा उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले एउटा सांसद् निर्वाध रुपमा देशभर घुम्न पाउने अवस्था नरहेको भन्दै आपत्ति जनाए ।

आफूलाई मन्दिर प्रवेशमा रोकिएको र एक जना कार्यकर्तामाथि कुटपिटसमेत भएको भन्दै उनले देशमा कानूनी राज्य छ कि जंगली राज्य भन्नेमा शंका उत्पन्न भएको टिप्पणी गरे ।

‘देश कानूनी राज्य हो भन्ठान्छौं हामी । एउटा सांसदलाई आफ्नै देशमा, पूर्वको सांसद् होस् या पश्चिमको सांसद् होस् । निर्वाध रुपमा घुमफिर गर्न पाउने अधिकार छ । जनकपुर जाँदा जे खालको एउटा समूहले निषेध गर्ने कोसिस गर्यो । यो कस्तो राज्य हो मलाई त अचम्म लागिराछ । कानूनी राज्य हो कि ? जंगली राज्य हो कि ? मेरो घरको छेउमा नआइज, मेरो बाटो नहिंड भन्ने अभिव्यक्ति आइराँदा त्यो खालको व्यवहार भइरहँदा ०८३ सालको साउन महिनाको ५ गते हामी त्यहाँनेर जनकपुर जाँदा हाम्रो समर्थकमाथि कुटपटि पनि भएको छ’, उनले भने ।


आफूहरुमाथि भएको दुव्र्यवहारबारे गृहमन्त्री सुधन गुरुङलाई टेलिफोन गरी जानकारी गराएको भए पनि दोषिमाथि कारबाही नभएको राईले बताए । ‘हामीलाई यस्तो भयो है भनेर पर्सनल्ली गृहमन्त्रीज्यूलाई फोन गरेर भनेको पनि हो । कारबाही भयो कि भएन ? कारबाही हुन्छ कि हुँदैन ? म यो प्रश्न गर्न चाहन्छु सरकारलाई’, उनले भने ।


राईले सुजसरीको देवानगञ्ज घटनापछि मधेसमा देखिएको समस्या समाधानका लागि भन्दै गएका गृहमन्त्री सुधन गुरुङले ‘हिन्दू सम्राट सेना’ सँग सम्झौता गरेकामा आपत्ति जनाए ।

उनले नेपालमा नेपाली सेनाबाहेक अरु कुनै सेना नरहेको र हुन पनि नसक्ने उल्लेख गरे । अरु समुदायले पनि धर्मका नाममा सेना गठन गर्दै गए मुलुकको अवस्था के हुने भन्ने चिन्ता उनको थियो । राईले हिन्दू सम्राट सेनामाथि प्रतिबन्ध लगाउन पनि माग गरे ।


‘समस्या आयो, समस्या समाधानका लागि गृहमन्त्रीज्यू बस्नुभयो भन्ने पनि आयो । त्यो समूहको नाम सेना रहेछ । हिन्दू सम्राट सेना । मैले बुझेको यो नेपाल भनेको सार्वभौम देश हो । यहाँ एउटै मात्र सेनाको नाम छ, त्यो हो नेपाली सेना । अब यसरी ठाउँठाउँमा सेना गठन गर्ने छुट कसरी दिइएको हो ? सेना गठन गर्न पाउने मापदण्ड के हो ? त्यो मापदण्ड पूरा गरेर कस–कसले सेना गठन गर्न पाउने हुन् ?’, राईले भने, ‘ यदि उएटा मात्र सेना रहनुपर्ने हो भने यो देशमा यो विभिन्न सेना नामका समूहहरुलाई सरकारले निषेध गर्नुपर्छ । सेना नामकमा समूहहरुसँग वार्ता पनि गर्नु पनि हुन्न ।’