नैतिकतालाई पैतालाले टेकेर किन पदमा बसिरहेका छन् संसदका सचिव राई

नैतिकतालाई पैतालाले टेकेर किन पदमा बसिरहेका छन् संसदका सचिव राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुखले बर्खास्त गर्ने तयारी स्वरुप स्पष्टीकरण सोधेपछि पनि प्रतिनिधिसभा सचिव हर्कराज राई पदमै छन् । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने प्रक्रियाअन्तर्गत स्पष्टीकरण सोधेका छन् ।

सभामुखले आफ्नो निरन्तरता दिन नचाहेको बुझ्दाबुझ्दै राई जवाफ फर्काएर बसेका छन् । संघीय संसदका महासचिव तथा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन–२०७५ मा सभामुखले सचिव हटाउन सक्ने व्यवस्था छ । ऐनको परिच्छेद–२ को (६) मा सोसम्बन्धी व्यवस्था छ ।

राष्ट्रपति समक्ष राजीनामा दिएमा, भ्रष्टाचार, नैतिक पतन, जबर्जस्ती करणी, मानव बेचबिखनसहितका अपराधमा संलग्न भएमा, कालो सूचीमा परेमा, मानसिक अवस्था ठीक नभएमा सचिव वा महासचिव पदमुक्त हुने व्यवस्था ऐनमा छ ।

यस्तै कार्यकालको पाँच वर्षे अवधि पूरा भएमा, विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र लिएमा पनि महासचिव वा सचिव पदमा रहने छैनन् ।

कार्यक्षमता अभाव, खराब आचरण वा पदीय कर्तव्यको पालना इमान्दारीपूर्वक नगरेको अवस्थामा महासचिवको हकमा सभामुख र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा तथा सचिवको हकमा सम्बन्धित सभाको सभामुख वा अध्यक्षको सिफारिसबाट राष्ट्रपतिले हटाउन सक्ने व्यवस्था ऐनमा छ । ऐनको सोही व्यवस्थाअन्तर्गत कार्यक्षमताको अभाव देखाउँदै सभामुदख अर्यालले सचिव राईसँग स्पष्टीकरण सोधेका छन् ।

संसदका पूर्वसचिव सोमबहादुर थापाले सभामुखले चाहेमा सभाको सचिव हटाउन सक्ने बताए । ‘ऐनमा भएको कुनै व्यवस्थामा टेकेर विधिपूर्वक सभामुखले सचिव हटाउन सक्छन्’, थापाले भने, ‘त्यो भन्दा महत्वपूर्ण कुरा सभाको महासचिव र सभाको सचिव राजनीतिक नियुक्ति हो । नयाँ सभामुख आउने बित्तिकै ठाउँ खाली गर्नुपर्ने हो ।’

उनले सभामुखले स्पष्टीकरण सोध्नुअघि नै सम्बन्धित पदाधिकारीले राजीनामा दिँदा पदीय मर्यादा कायम हुने स्पष्ट गरे । ‘महासचिव र दुवै सभाको सचिव सभामुखको विश्वासमा हुने राजनीतिक नियुक्ति हो । आफूलाई नियुक्त गर्ने सभामुख पदमा नरहेपछि नयाँ आउने सभामुखलाई काम गर्न सजिलो होस् भन्नका लागि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’, थापा भन्छन् ।

यद्यपि नयाँ सभामुखले राजीनामा दिनुपर्दैन भनेको अवस्थामा भने पदाधिकारीको निरन्तरता हुन सक्ने थापाले उल्लेख गरे । ‘नदेऊ भन्दा परेन । तर, जब विश्वास भएन भन्ने अवस्था आउँछ । त्यसपछि स्पष्टीकरण दिनेतिर होइन, राजीनामा दिनुपर्छ’, उनले भने ।

राईलाई पूर्वसभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए । त्यसअघि उनी तत्कालीन भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालका स्वकीय सचिव थिए ।