कालापानी नेपाल र भारतबीचको विवाद हो, चीन नेपालको पक्षमा उभिन्छः राजदूत यान्छी


काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालले चीनको इसारामा राजनीतिक नक्सा सार्वजनिक नगरेको स्पष्ट पारेकी छन् । राजदूत यान्छीले एक पत्रिकालाई अन्तर्वार्ता दिँदै आधारहीन तथा स्वार्थप्रेरित आरोपमा सत्यता नभएको र यस्तो आरोप नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार भएको टिप्पणी गरेकी छन् ।

‘नेपालका सबै राजनीतिक दलहरूले हालसालै जारी गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सामा सहमति गरेका छन् । यो नेपाल सरकारले आफ्नो सार्भभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतका आधारमा चालेको कदम हो । नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थप्रेरित आरोपमा सत्यता छैन यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमानमात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो यो’, यान्छीले भनेकी छिन् ।

त्यस्तै राजदूत यान्छीले कालापानीको विषय नेपाल र भारतबीचको भएको र यो विवादलाई दुवै पक्षले सौहार्द्रपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास राजदूतको छ ।

‘यसबारे चीनको अडानमा कुनै परिवर्तन भएको छैन  । दोस्रो कुरा, मलाई थाहा छ, केही गैरजिम्मेवार मिडिया तथा व्यक्ति, समूह चीनको वास्तविकता के हो र झुट के हो भन्नेबारे सधैँ अलमल पारेर जनमत भड्काउन खोजिरहन्छन्’, उनले भनिन् ।

उनले नेपालसँगको सम्बन्ध वर्षौँदेखि सुमधुर र विवादरहित रहेको बताएकी छन् । उनलेले भनिन् , ‘म यही भन्न चाहन्छु कि अकबरी सुनलाई कसी लगाउनुपर्दैन  । परिवर्तित र पटक–पटकको परीक्षणबाट नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ । जस्तोसुकै कठिन अवस्थामा पनि चीन नेपालको पक्षमा दह्रोसँग उभिनेछ । हामी विश्वास गर्छौं कि सरकारको प्रयत्न तथा दुई देशबीचको सहकार्यबाट हामी निश्चित रूपमा यो महामारीविरुद्धको सङ्घर्ष जित्नेछौँ । म त्यो सुनौलो दिनको प्रतीक्षामा छु ।’

राजदुत यान्छीले बलियो नेतृत्व तथा प्रभावकारी प्रशासनिक संयन्त्रका कारण कोरोना महामारीको पहिलो केस चीनमा देखिएपनि त्यहाँ कम संक्रमण र मानवीय क्षति भएको बताएकी छिन् ।

‘हामीसँग यस्ता महामारीविरुद्ध एकताबद्ध भएर लडेका थुप्रै अनुभव छन्  । म केही अनुभव राख्न चाहन्छु । पहिलो, हामीसँग बलियो नेतृत्व तथा प्रभावकारी प्रशासनिक संयन्त्र छ । राष्ट्रपति सी चिनफिङको निर्देशन तथा नेतृत्वमा हामीले सरकारका सम्पूर्ण शक्ति तथा स्रोतहरू संयुक्त रूपमा परिचालन गर्दै सङ्घर्षमा उत्रियौँ ’, यान्छीले भनिन् , ‘ दोस्रो, नियन्त्रणका वैज्ञानिक विधिहरू अपनायौँ  । हामीले अग्रिम पहिचान, अग्रिम रिपोर्टिङ, अग्रिम आइसोलेसन र अग्रिम उपचारको नीति अपनायौँ  । सङ्क्रमितहरूसँग सम्पर्कमा आएकाहरूको तत्काल पहिचान तथा परीक्षण हुनुपर्नेको तत्काल परीक्षण, अस्पताल भर्ना हुनुपर्नेलाई तत्काल अस्पताल भर्ना, आइसोलेसनमा राख्नुपर्नेलाई तत्काल आइसोलेसनमा राख्यौँ  ।’

प्रतिक्रिया दिनुहोस
Advertisement