हिउँ छिचोल्दै हिल्सामा सशस्त्र प्रहरी


सिमकोट –  नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो ।

गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बीओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो । टोली आवश्यक पूूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बीओपीको औपचारिक रूपमा कार्यालय स्थापना हुने उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा १७ जनाको टोली हिल्सा पुगेको हो । टोलीले कार्यालयका लागि घर भाडामा लिनेदेखि अन्य व्यवस्था गरिरहेको छ । हिल्सा पुगेको टोलीले सीमा चौकी स्थापनाको तयारी गरिरहेका बेला सप्रनाउ विष्ट भने एक टोली लिएर जिल्लामा आएसँंगै औपचारिक कार्यालय स्थापनाको तयारीमा लाग्नुभएको छ ।

बीओपीका लागि सबै तयारी भएपछि औपचारिक रूपमा कार्यालय स्थापना हुनेछ । सशस्त्र प्रहरीको प्रधान कार्यालयले हिल्सामा औपचारिक सीमा सुरक्षा चौकी स्थापना चाँडै हुने जनाएको छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली हाललाई हिल्सामा बस्ने छ । टोलीले सीमा सुरक्षाका साथै सिमानामा हुने अन्य गतिविधिको पनि सुरक्षा गर्नेछ । सीमा सुरक्षा चौकीको माग धेरै पहिलेबाट हुम्लावासीको तर्फबाट रहँदै आएकोमा बल्ल सो माग पूरा भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement