चुनावविरोधी गतिविधी बढेपछि ‘हाई अलर्ट’ मा सुरक्षा निकाय


काठमाडौं– प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखेको छ ।

 

 

 

प्रहरीले सातै प्रदेशका एआईजीलाई यस सम्बन्धमा अलर्ट गराइसकेको छ भने त्यस मातहतका सबै जिल्लाका प्रहरी प्रमुखलाई सशस्त्र प्रहरी तथा नेपाली सेनासंग समन्वय गरी सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ ।

 

 

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सकिएलगत्तै निर्वाचनमा खटिने उम्मेदवारको सुरक्षा, दुई पक्षीय झडप हुन नदिने  जस्ता विषयलाई ध्यान दिन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

 

 

 

प्रहरी प्रधान कार्यालयले जनशक्तिको करिब ९० प्रतिशत चुनावी सुरक्षाका लागि खटिएको जनाएको छ । ‘निर्वाचन कार्यतालिका सार्वजनिक भएदेखि मतगणना सकिएर विजय सभासम्म नेपाल प्रहरी सुरक्षाका लागि खटिनेछ,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले भने । उनका अनुसार कार्यालय सुरक्षाबाहेक सबै जनशक्ति निर्वाचनमा खटिनेछन् ।

 

 

पहिलो चरणको निर्वाचन सुरक्षा दृष्टिकोणले सहज रहेको भनिए पनि हिमाली तथा पहाडी जिल्ला भएकाले मौसमले साथ नदिने विश्लेषणसहित थप मद्दतका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिनेछ ।

 

 

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवार तथा दलका कार्यकर्तालाई तर्साउन सक्ने भन्दै सो पार्टीविरुद्ध  ‘हाई अलर्ट’मा रहन निर्देशन दिइएको छ ।

 

 

विप्लवबाहेक निर्वाचनविरोधी अरू कुनै संगठन नभएको र योजना गरिएभन्दा धेरै सुरक्षाकर्मी खटिने भन्दै मद्दती फौज तैनाथ गरी मातहत निकायलाई भरपर्दो सूचना प्रवाह गर्न पनि निर्देशन दिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement