कोशी प्रदेश सरकार : हिक्मत कार्कीले आजै मुख्यमन्त्रीको पद सम्हाल्ने


काठमाण्डु – सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन् । कार्कीले आज (शुक्रबार) कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्दैछन् ।

न्यायाधीश ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको छ । फैसलामा एक साताभित्रमा संविधानको धारा १६८ (२) अन्तर्गत सरकार गठन गर्न र त्यो हुन नसके १६८ (३) अन्तर्गत सरकार गठन गर्न उल्लेख छ ।

कोशी प्रदेशसभामा ९३ जना सांसद छन् । सरकार गठनको दाबी पेश गर्न ४७ सीटको आवश्यकता पर्छ । थापाले सभामुखको समर्थनसहित ४७ सीट पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । थापाले कांग्रेसको २९, नेकपा माओवादीको १२, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सांसद तथा सभामुखको छुट्टै १ गरी बहुमत पुर्‍याएका थिए ।

सरकार गठन प्रक्रिया असंवैधानिधक भएको दाबी लिएर बदरको माग गर्दै एमाले संसदीय दलका नेता कार्कीले असार २२ गते रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement