सीमा सुरक्षामा खटिएका हिल्सा बिओपीका सुरक्षाकर्मीलाई दैनिक उपभोग्य वस्तुको अभाव


सीमकाेट – चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायत सामग्री अभाव भएको हो ।

हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तु लगायतको अभाव भएको थाहा भएको छ ।

यारी, याल्वाङ, मुचु, केर्मीलगायत गाउँबाट खरीद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको बताइएको छ । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या भएको स्थानीयवासीले जनाएका छन् ।

हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा सशस्त्र प्रहरी बलको टोली यस वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको छ ।

हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरीचौकी भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपी यस वर्ष पहिलो पटक हिल्सामा बसेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement