काठमाण्डु- हिमालयन इन्टरप्राइजेजले आफ्नाे कम्पनीको नाममा दर्ता रहेको पुल्चोकस्थित जग्गाको बारेमा भ्रमपूर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
हिमालयन इन्टरप्राइजेजले कम्पनीको नाममा दर्ता कायम रहेको पुल्चोकको ४ रोपनी ४ आना १ पैसा क्षेत्रफलको जग्गा ३० वर्षदेखिको कानुनी उपचारपछि टुंगो लागेको बताएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा पुल्चोकस्थित जग्गा हड्पेको भनेर फैलाइएको भ्रमपूर्ण समाचारमा कुनै सत्यता नरहेको उल्लेख छ । लेखिएको छ, ‘साविक ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ (घ) को कित्ता नम्बर ४३ को क्षेत्रफल ४-४-१-० रोपानी जग्गा यस प्रा.लि. ले २०३८ साल पौष १६ देखिको निरन्तर कानूनी उपचारको माध्यमबाट २०६७।१०।०५, २०६७।१२।३० र २०६८।०२।१३ गते कम्पनीको नाममा हक कायम भई जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएको अवस्था विद्यमान छ ।’
कम्पनीले उक्त जग्गा प्राप्तीका लागि २०५७।०२।३२ को सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला, २०६२।०७।०१ को सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला, २०६६।०४।१२ को साविक ललितपुर उप–महानगरपालिका वडा नम्बर ३ को फिल्डको यथार्थता बुझी सम्बन्धित पक्षहरुको उपस्थितिमा गरिएको सर्जमिनसहितको सिफारिस पत्रलाई पनि प्रमाणको रुपमा लिन आग्रह गरेको छ ।
२०६६ भदौ ३ गतेको गोरखापत्रमा प्रकाशित मालपोत कार्यालय ललितपुरको हकदाबी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना, २०६७ जेठ २५ को भूमिसुधार तथा व्यवस्थापन विभागको जग्गा कम्पनीको नाममा दर्ता गर्न दिएको निर्देशन र सहमति, २०६७ पुस २९ को मालपोत कार्यालय ललितपुरको निर्णयलगायतका कानूनी आधारहरुले पनि पुल्चोकको जग्गा सोही कम्पनीको स्वामित्वमा रहेको दावी गरिएको छ ।
यमजित प्रतापलगायतले जग्गामा हकदावीसहित पुनः पुनरावेदन अदालत र सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकोमा क्रमशः २०७० फागुन २५ र २०७९ फागुन २३ गते उक्त जग्गा कम्पनीको कायम हुने अन्तिम फैसला भएकाले पुल्चोकको चार रोपनी जग्गाको बारेमा अनर्गल प्रचार गर्न आवश्यक नरहेको प्रष्टीकरण दिइएको छ ।
कम्पनीले २०५१ जेठ १० गतेको सञ्चालक समितिको बैठकबाट उक्त कम्पनीको सम्पूर्ण सेयरलगायत सम्पत्ति र सम्पूर्ण लिग लगापात अरुणकुमार चौधरी र निजको परिवारलाई बिक्री गर्ने निर्णय भएको बताइएको छ ।
जसअनुसार २०५१ असार १६ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको सञ्चालक समिति परिवर्तन भएको व्यहोरा पनि विज्ञप्तिमा खुलाइएको छ । कम्पनीले भनेको छ, ‘सो समयमा जग्गाधनी प्रमाण पुर्जा नभएको छुट जग्गा दर्ताको प्रक्रियामा रहेको साविक ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ (घ) को कित्ता नम्बर ४३ को ४ रोपनी ४ आना १ पैसा जग्गासमेत कम्पनी खरिदसँगै कम्पनीको सम्पत्तिको रुपमा प्राप्त भएको हो ।’
जग्गा छुट दर्ता सम्वन्धमा ललितपुर जिल्ला अदालतको २०४८ आश्विन २० गतेको फैसलाअनुसार कम्पनीको नाममा जग्गा दर्ता हुने ठहर भएको तर २०५२ कात्तिक २८ गते पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसलालाई बदर गरेको थियो । २०५७ जेठ ३२ गते सर्वोच्च अदालतले मालपोत कार्यालयबाट उक्त जग्गाको स्वामित्वसम्बन्धमा कानूनबमोजिम गर्न फैसला गरेको थियो भने २०६२ कात्तिक १ गते सर्वोच्चबाट २०५९ सालको रिट नम्बर २७९९ को फैसलामा कम्पनीले २०३८ पुस १६ गते दिएको दिएको निवेदनबमोजिम बुझि कानून बमोजिम गर्न मालपोत कार्यालय ललितपुरका नाममा परमादेश जारी भएको भनिएको छ ।
त्यसपछि २०६६ साउन १२ गते ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयको सम्बन्धित पक्षहरुको उपस्थितिमा सर्जमिन मुचुल्का सहित कम्पनीको नाममा जग्गा दर्ता गर्ने सिफारिस गरेको, सर्जमिनमा सम्पूर्ण गुठी (मिखावहाल गुठी, छायवहाल वा खल) लगायतका गुठीले समेत कम्पनीको जग्गा रहेको सर्जमिनमा सकारेको भनिएको छ ।
त्यसपछि मालपोत कार्यालय ललितपुरले सो जग्गा सम्बन्धमा हकदावीको निम्ति २०६६ भदौ ३ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । २०६६ असोज ६ गते यमजित प्रताप राणालगायतले ३५ दिने सूचनाको आधारमा हक दावी पेश गरेका थिए । तर, मालपोत कार्यालयले २०६७ पुस २९ गते निजहरुको हकदावी नपुग्ने निर्णय सुनाएको कम्पनीको भनाई छ ।
भूमिसुधार तथा व्यवस्थापन विभागले २०६७ जेठ २५ गते मालपोत कार्यालयलाई छुटदर्ता समितिको सिफारिसबमोजिम कम्पनीको नाममा दर्ता गर्न सहमतिसहितको निर्देशन जारी गरेको विवरण पनि खुलाइएको छ । सोही वर्षको पुस २९ गते मालपोत कार्यालय ललितपुरले हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णयका साथ जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ ।
त्यसपछि पनि यमजित प्रतापलगायतले जग्गामा हकदावीसहित पुनः पुनरावेदन अदालत र सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकोमा क्रमशः २०७० फागुन २५ र २०७९ फागुन २३ गते उक्त जग्गा कम्पनीको कायम हुने अन्तिम फैसला भएकाले पुल्चोकको चार रोपनी जग्गाको बारेमा अनर्गल प्रचार गर्न आवश्यक नरहेको प्रष्टीकरण दिइएको छ ।
प्रतिक्रिया