हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश


काठमाण्डु – हिन्दी फिल्म चल्न दिन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार काठमाडौं महानगरको निर्णयविरूद्ध हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो । अल्पकालीन आदेशसँगै विपक्षीसँग छलफल गर्न अदालतले असार १२ गते दुवै पक्षलाई बोलाएको छ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले गत सोमबारदेखि प्रदर्शनमा रोक लगाएका थिए।

बालेन्द्रको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो। तर अदालतको आदेशसँगै काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह (बालेन)ले प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सजाय भोग्न तयार भएको तर फिल्म चल्न नदिने घोषणा गरेका छन् ।

उनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement