गृहमन्त्री थापासँग अमेरिकी राजदूत विच भेट, अध्यागमन सुरक्षामा अमेरीकी सरकार सहयोग गर्न इच्छुक


काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गरेकि छिन् । गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको बताउँदै यो अवधिमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए । उनले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिए ।

अमेरिकी राजदूत टेप्लिज्ले नेपालको गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेका थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राखेकि थिईन् ।

यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा जिज्ञासा राखेकि थिईन् । सो अवसरमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement