पाेखरा पुगेर गृहमन्त्रीले भने ‘देश माफिया, ठेकेदार र तस्करको हातमा छ’


पोखरा- गृहमन्त्री रामबहादुर थापाले देश माफिया, ठेकेदार र तस्करको हातमा रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देश ठेकेदार, तस्कर र माफियाको कब्जामा रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

‘देशको अर्थतन्त्र ठेकेदारको हातमा छ जसले अर्बौंको राजश्व छलि गरेका छन्’ उनले भने । देश तस्करको हातमा छ जसले तस्करी गरिरहेका छन् । सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताउदैँ गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको दावी गरे ।

देशको पछौटेपनका कारण युवा जनशक्ति देश बाहिर रहेको र तिनलाई स्वदेश फिर्ता गर्न समृद्धि आवश्यक भएको उनले राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक भएका कारण वामपन्थी शक्ति एक बन्न लागेको बताए ।

उनले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताउदैँ भने ‘पार्टी एकताका लागि वैचारिक, राजनीतिक एवं सांगठनिक आधार तयार भइसकेको छ’, उनले भने, ‘एकताको मिति छिट्टै घोषणा हुनेछ, एकतासँगै देश विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री थापाले माओवादी मन्त्रीलाई ठाउँ नदिएको भन्ने विषय निराधार भएको बताए ।

भ्रमणका क्रममा राष्ट्रिय स्वाभिमान र गौरवमा आँच आउने किसिमले केही व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने कुरा आएको बताउँदै उनले त्यस्ता अभिव्यक्ति दिने व्यक्ति स्वयम् जिम्मेवार रहेको र त्यसमा सरकार जिम्मेवार नभएको बताए ।

प्रहरी सेवामा रोकिएका तल्लो तहका बढुवा प्रक्रिया शुरु भइसकेको र त्यो अघि बढ्ने मन्त्री थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement