इजाजत दिइएका हतियारको विवरण पठाउन मातहत निकायलाई गृहको निर्देशन


काठमाण्डु – गृह मन्त्रालयले इजाजत दिइएका हातहतियारको विवरण पठाउन मातहत निकायलाई निर्देशन दिएको छ ।

सोमबार इजाजत लिइएको हतियारसहित सर्वोच्च अदालतबाट २ व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको छ ।

पत्रमा भनिएको छ, ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement