बिदामा सरकारी गाडी नचलाउन गृहमन्त्रीको कडा निर्देशन


काठमाडौं– सरकारले सार्वजनिक बिदाका दिनमा अनुमति लिएर मात्र सरकारी गाडी चलाउन निजामती कर्मचारीलाई निर्देशन दिएको छ।

गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर अनुमति नलिइ बिदाको दिन सेतो नम्बर प्लेटको गाडी नचलाउन भनेको हो।

साथै, गृहमन्त्रायले रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सरकारी गाडीमा रातो नम्बर प्लेट राखिएको भए तत्काल सेतो नम्बर प्लेट राख्न आग्रह गरेका छन्।

‘कतिपय सरकारी निकायले सवारी साधनलाई रातो नम्बर प्लेटमा यथावत वा परिवर्तन गरी आफूखुशी प्रयोग गर्ने गरेको, सार्वजनिक बिदाका दिनमा कार्यालयको कामबाहेक अन्य प्रयोजनमा समेत प्रयोग गरी दुरुपयोग भए गरेको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ।

सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी कामकाजको सिलसिलामा प्रयोग गर्नु परेमा प्रयोजन खुलाइएको पास वा अधिकार प्राप्त निकाय वा पदाधिकारीको स्वीकृति लिएर मात्र प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयले ०१–४२११२०८ र ०१–४२११२१४ नं मा जुनसुकै समयमा सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धी सूचना एवं जानकारी उपलब्ध गराई दुरुपयोग गर्ने कार्य रोक्ने अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement