अवैध अमिसा हस्पिटलमा तालाबन्दी, अनुगमन आउँदा मेडिकल सञ्चालक टाप !

अवैध अमिसा हस्पिटलमा तालाबन्दी, अनुगमन आउँदा मेडिकल सञ्चालक टाप !


काठमाण्डु – बझाङ जिल्ला सदरमुकाम चैनपुरमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय बझाङको सयुक्त टोलीले चैनपुरमा सञ्चालित मेडिकल, क्लिनिक र निजी अस्पतालको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा इजाजत र दर्ता अनुमतिपत्र विना नै अवैध रूपमा सञ्चालन गरिएको अमिसा हस्पिटल प्रालिमा तालाबन्दी गरिएको छ भने चैनपुरमा बङ्गाली भनेर चिनिने चैन मेडिकलले अवैध रूपमा लागूऔषध प्रयोजनका लागि औषधि बेचबिखन गरेकोबारे सोधपुछ गरिएको छ ।

इजाजत नलिएर मापदण्ड विपरीत अस्पताल, क्लिनिक, फार्मेसी सञ्चालन गरेको, जनशक्ति बिनै नागरिकहरूलाई ठगेको, फार्मेसी जनशक्ति विना औषधि बिक्रीवितरण गरेको, चिकित्सकभन्दा अन्य जनशक्ति सीएमएले भिडियो एक्सरे गरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको गुनासो सुन्नमा आएकाले अनुगमन गरिएको जनाइएको छ ।

अनुगमनका क्रममा अमिसा अस्पतालमा फर्मेसी दर्ता नै नगरी सञ्चालक गरेको र नगरपालिकामा दर्ता नगरेको, ३ जना कर्मचारीको भरमा अस्पताल सञ्चालन गरेको पाइएको हुँदा सिल गरिएको छ । अन्य केही मेडिकल सञ्चालकहरू अनुगमन भइरहेको सूइँको पाएर मेडिकल बन्द गरी टाप भागेका जनाइएको छ । अनुगमन देखेर भाग्नेमा एनपी सुशील क्लिनिक, भगवती क्लिनिक र राज आयुर्वेद रहेका छन् ।

विगतमा पनि अनुगमन हुने गरेको र अनुगमन गर्ने भन्ने पहिले नै जानकारी हुँदा बन्द गरी भाग्ने र पछि खोल्ने गरेको स्थानीयको गुनासो छ ।