आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपीभी खोप’ लगाइँदै

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपीभी खोप’ लगाइँदै


काठमाण्डु-आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसरमा सरकारले मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।

उनले भने, ‘हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।’

अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछ । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।

सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०ः९०ः९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने सरकारी अधिकारीले बताएका छन् ।

३० वर्ष उमेरका महिलालाई पाँच–पाँच वर्षमा पाठेघर मुख क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ । ती महिलामा क्यान्सर छ भने कम्तीमा ९० प्रतिशतको सफल उपचार हुन्छ ।

विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने डा. गौतम बताउँछन् ।