काठमाण्डु – जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले उपेन्द्र यादव र महज्न्थ ठाकुरबीच भएको एकीकरणप्रति असहमति प्रकट गरेका छन् ।
यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकताप्रति त्रिपाठीले असहमति जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले दुई बुँदे असहमति प्रकट गरेका छन् ।
‘प्रत्यक्ष निर्वाचित रास्ट्रपतिको व्यवस्था नेपाली कम्युनिस्ट मित्रहरूको विचार हो, जुन अल्पसंख्यकका लागि घातक छ र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँग सहमत हुन सकिन्न,’ उनले भनेका छन्, ‘सैद्धान्तिक विषयमा स्पष्ट नभई एकता गर्नु आत्मघाती हुनेछ।’
त्रिपाठी लोसपा नेपालसँग एकता गरी जसपा नेपालको पार्टी एकता प्रक्रियामा सहभागी थिए । तर पछिल्लो समय निर्वाचन आयोगले दिएको मान्यतामा उनको पार्टी समावेश छैन ।
यद्यपि, उनले जसपा नेपाल र लोसपा एकीकरणलाई स्वागतयोग्य कदम भनेका छन् । उनले जनता प्रगतिशील पार्टी नेपालको अथक प्रयासपछि सङ्घीय लोकतान्त्रिक मोर्चा गठन भएको बताउँदै आफ्नो पार्टी र तमलोपाको प्रयासका कारण लोसपासँग एकता प्रक्रिया अगाडि बढेका समेत दाबी गरेका छन् ।
तर लोसपा र जसपा नेपालबिच एकता प्रक्रिया अगाडि बढ्दा आफ्नो पार्टी र तमलोपालाई कुनै जानकारी नदिएको अध्यक्ष त्रिपाठीको भनाइ छ ।
निर्वाचनको मुखमा भएको अपारदर्शी प्रयासप्रति अपमान सहेर पनि आफूहरूले कुनै टिप्पणी नगरेको तर निर्वाचन घोषणापत्र आएपछि त्यसमा आफूहरूले असहमति जनाएको उनले बताए ।
जसपा नेपालले ल्याएको घोषणापत्रमा शासकीय स्वरूपको विषयमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था छ । जुन कम्युनिष्टहरुको विचार रहेको टिप्पणी उनले गरेका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था अल्पसङ्ख्यकको लागि घातक हुने दाबी त्रिपाठीको छ ।
अध्यक्ष त्रिपाठीले जसपा नेपालले अघि सारेको पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पनि असहमति जनाएका छन् । उनले भनेका छन् ‘यस्ता अन्य सैद्धान्तिक विषयहरू छन्, जुन स्पष्ट नभइकन एकता गर्न आत्मघाती हुनेछ ।’
त्रिपाठी जसपा नेपालको घोषणापत्र लिएरै चुनावमा पनि सहभागी भएका थिए । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–१ बाट उठेका उनले ७ हजार ८२३ मत प्राप्त गरेका थिए ।
जसपा नेपाल र लोसपा नेपालबिच एकता हुँदा त्यसमा उनले सहमति जनाएका थिए । सोही सहमतिअनुसार यसअघि गत पुस २७ गते गठन भएको एकीकृत जसपा नेपालको ४३ सदस्यीय केन्द्रीय समन्वय समितिमा त्रिपाठी र उनको पार्टीका अन्य नेताहरूको पनि नाम समावेश थियो ।
समन्वय समितिको बैठकमा ती नेताहरू सहभागी पनि भएका थिए । त्रिपाठीसहित अन्य नेताहरूले सोही पार्टीबाट चुनावमा पनि भाग लिएका थिए । तर अहिले आएर निर्वाचन आयोगले एउटै व्यक्ति दुईवटा पार्टीमा रहन नसक्ने गरि जसपा नेपाललाई पत्र पठाएपछि यो विवाद बाहिर आएको हो ।





प्रतिक्रिया