चीनको हुबेई प्रान्तबाट नेपाल फर्कन नपाएका नेपाली ढुक्क

चीनको हुबेई प्रान्तबाट नेपाल फर्कन नपाएका नेपाली ढुक्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चीनको हुबेई प्रान्तका विभिन्न स्थानबाट नेपाल फर्कन नपाएका र फर्कन नचाहेका नेपालीले आफूहरू कोभिड–१९ बाट सुरक्षित रहेको जानकारी दिएका छन् । हुबेईको वुहान कोभिड–१९ को उद्‍गमस्थल मानिएको छ ।

हुबेईमा रहेका नेपालीमध्ये १ सय ७५ जनालाई सरकारले गत फागुन ३ मा नेपाल लगेको थियो । फर्कन चाहेकामध्ये चार जनामा ज्वरो देखिएपछि वुहानको थ्येनह विमानस्थलमा रोकिएका थिए । दुई जना उनीहरूका परिवारका सदस्य थिए । तर त्यतिबेला घर फर्कन नपाउँदा खिन्न भएका उनीहरूले चीन सरकारले आवश्यक सेवा–सुरक्षासहित हेरचाह गरेकाले कुनै भय नरहेको बताउँछन् ।

‘मेरा कारणले बच्चा र श्रीमती फर्किन नपाउने वा अस्पतालको निगरानीमा बस्नुपर्ने चिन्ताबाहेक बढ्दो तापक्रमकै कारण म भने चिन्तित थिइनँ,’ वुहान विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका बिगेशमान शाक्यले भने । उनी हाल परिवारसहित विश्वविद्यालयको छात्रावास बाहिर बसिरहेका छन् । आफूहरूलाई स्थानीय सरकारले आवश्यक उपभोग्य सामान उपलब्ध गराउने उनले बताए । उनले भने, ‘केही महँगो पर्ला वा केही दिन ढिलो हुन सक्ला तर चाहिएका सामान आपूर्तिमा खासै समस्या आएको छैन ।’ कतिपय सामान अनलाइनमार्फत अर्डर गर्ने गरेको उनले बताए ।

वुहानस्थित सेन्ट्रल चाइना नर्मल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरिरहेका झमकुमार विश्वकर्माले ‘आफूले चाहेरै नेपाल नफर्किएको’ बताए । त्यहाँ अध्ययनरत ६ जना नेपालीमध्ये तीन जना कोभिड–१९ को त्रास फैलिनुअघि नै घर फर्किएका थिए भने दुई जनालाई सरकारले ल्याएको हो । उनले आफू चीनमै सुरक्षित ठानेर घर फर्कन नचाहेको बताए । ‘महामारीका बेला सुरक्षा महत्त्वपूर्ण कुरा थियो,’ उनले भने, ‘चीन सरकारले पनि राम्रो सुरक्षा तथा रेखदेख गरिरहेका बेला हतासिएर फर्किनुपर्ला जस्तो लागेन ।’

हुबेईमा रहेका नेपालीहरूको अपेक्षा गर्मीयामको सुरुवातसँगै स्थिति सुधार होला भन्ने छ । पछिल्ला दिनमा चीनमा संक्रमितको आँकडा घट्दै गइरहेकाले पनि स्थानीय आशावादी छन् । विश्वकर्माले बाहिर प्रचार गरिएजस्तो कुनै असुरक्षा वा खानपानको अभाव भोग्न नपरेको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।