इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


काठमाण्डु – काठमाण्डु जिल्ला अदालतले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई बुधबार न्यायधिश राजकुमार कोइरालाको एकल इजलाशले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अन्य १० जना भने धरौटीमा रिहा भएका छन् । काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दिपक अधिकारीले १० जना प्रतिवादीलाई धरौटीमा रिहा गरिएकाे बताए ।

उनका अनुसार १० जना प्रतिवादीलाई कसैको हकमा ५० लाख, कसैको १५ लाख र कसैको लागि १० लाख रुपैयाँ धरौटी माग गरिएको हो । अदालतले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कैस्तुभ चेतन ढुङ्गाना, भगवानबहादुर सिंह, संगित श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछानेलाई न्यूनतम १० हजारदेखि अधिकतम ५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।

तीन सातादेखि अदालतमा प्रतिवादीको थुन्छेक बयान, निजी वकिलको वकालत भइरहेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र सङ्गठित अपराधमा मुद्दा दायर गरेको थियो ।

तामाङ लगायत ४३ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको थिया । जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement